‘औषधीमा प्रयोग गर्नका लागि गाँजाको नियन्त्रित खेती गर्न दिनुपर्ने’


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

आयुर्वेदिक चिकित्सक र औषधी उत्पादकहरूले औषधीमा प्रयोग गर्नका लागि गाँजाको नियन्त्रित खेती गर्न दिनुपर्ने बताएका छन् ।

अहिले पनि औषधीमा गाँजाको प्रयोग गर्न पूर्णरूपमा नरोकिएको भए पनि गाँजालाई गैरकानुनी बनाइएपछि कतिपय औषधीको उत्पादन नै बन्द भएको उनीहरू बताउँछन्।

सिंहदरवार वैद्यखाना विकास समितिका उत्पादन अधिकृत डा विनोद शाहका अनुसार वैद्यखानाले लागुऔषध (नियन्त्रण) ऐन २०३३ लागु भएपछि गाँजाको प्रयोग हुने केही औषधी उत्पादन रोकेको थियो।

त्यस्ता औषधीहरू झाडापखाला रोक्ने र दुखाइ कम गर्ने खालका रहेका बताइन्छ।

आयुर्वेदिक चिकित्सकका अनुसार रातोबरी, जातीफलाडी चूर्ण र मदनानन्द मोदक औषधीमा गाँजा र भाङको प्रयोग हुने गर्थ्यो।

वैद्यखानामा छ वर्ष उत्पादन तथा गुणस्तर अधिकृतका रूपमा काम गरेका प्राध्यापक डाक्टर श्याममणि अधिकारीका अनुसार आयुर्वेदिक औषधीमा भाङको निकै प्रयोग हुन्छ।

पखाला रोक्ने र दुखाइ कम गर्ने औषधीहरूमा भाङको प्रयोग हुने र कतिपय औषधी बनाउने क्रममा प्रयोग गर्नैपर्ने उहाँको भनाई छ ।

उहाँ भन्नुहुन्५ तर यसलाई जथाभाबी प्रयोग गर्न दिनुपर्छ भन्ने होइन। नियन्त्रित खेती र प्रयोग खुला गर्नुपर्छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com