एकबर्षमा नेपाल आए १ लाख ६९ हजार चिनिया पर्यटक, भाइरसका कारण उच्च जोखिममा नेपाल


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

नेपाल भ्रमणमा आउने विश्वका नागरिकहरुमा दोश्रो नम्बरमा चिनियाहरु रहेकाले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल रहेको छ । सन् २०१९ मा मात्र चीनबाट १ लाख ६९ हजार ५ सय ४३ पर्यटकहरु नेपाल भित्रिएका थिए ।

नेपाल पर्यटनबर्ष २०२० लाई लक्ष्यित गरेर नेपालले चीनिया पर्यटकहरुलाई नेपाल भित्राउन विशेष कार्यक्रमहरु समेत लागु गरेको छ । चीनका नागरिकलाई सहजभिसादेखि निशुल्क भिसासम्मका कार्यक्रमहरु लागु भएको सन्दर्भमा चीनमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको छ ।

नेपालमा भाइरसको संक्रमण पुष्टी भइसकेको छ भने भाइरस मान्छेबाट मान्छेमा सर्ने पुष्टी भइसकेको सन्दर्भमा महामारीको सामना गर्न साधानश्रोतको कमी रहेको नेपाल जस्तो मुलुकका लागि उच्च शतर्कता आवश्यक भएको छ । यद्यपी नेपालले चीनबाट आउनेहरुलाई विमानस्थलमा स्वास्थ्यजाँच भने सुरु गरिसकेको छ ।

चीनको भ्रमण नगर्न अमेरिकाको ट्राभल एड्भाइजरी

घातक कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ नाघेपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई चीन नजान चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्रालयले जारी गरेको ट्राभल एड्भाइजरीमा चीनको भ्रमण नगर्न भनिएको हो ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वब्यापी फैलिएको भन्दै विश्व स्वास्थ्य संकटकाल घोषणा गरे लगत्तै अमेरिकाले आफ्नो ट्राभल एड्भाइजरी अपडेट गरेको हो । यसबारे थप सुचनाहरु जारी गर्दै जाने अमेरिकी सरकारले जनाएको छ ।

चीनमा रहेका अमेरिकी नागरिकलाई कमर्सियल वाहनको प्रयोग गरेर चीन छाड्न समेत अमेरिकाले सुझाव दिएको छ । अमेरिकामा कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा संक्रमणको पुष्टी भइसकेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म चीनमा २ सय १३ को मृत्यु भइसकेको छ भने ९ हजार ७ सयभन्दा बढीमा चीनमामात्र संक्रमण पुष्टी भएको छ । चीनबाहिर १४० जनामा संक्रमण पुष्टी भएको छ ।

६२ देशले गरे चीनका नागरिकको भिसामा कडाई

यसैबीच क्यानडाले चीनमा रहेका कुटनीतिक कर्मचारी र उनीहरुका परिवारलाई क्यानडाबाट बाहिर लगेको छ । अहिलेसम्म ६२ वटा देशहरुले चीनका नागरिकका लागि आप्रवासनमा कडाई गरेका छन् । ६ देशहरुले चीनका नागरिकलाई भिसामा कडाई गरेका छन् भने ४ वटा देशले भिषा निषेध नै गरेका छन् ।

४७ देशहरुले चीनका नागरिकलाई भिसा जारी गर्नु अगाडि स्वास्थ्य परीक्षण र स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण चीनका नागरिकहरुले चीन छाड्न थालेपछि भिसामा कडाई गरिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com