अन्तत : युरोपियन युनियनबाट बाहिरियो बेलायत


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

झण्डै ४७ बर्ष लामो आवद्धता समाप्त पार्दै बेलायत युरोपियन युनियनबाट बाहिरिएको छ । अब युरोपियन युनियनका सदस्य राष्ट्रहरुको संख्या जम्मा २७ भएको छ ।

युरोपियन युनियन बेलायतसहितका २८ राष्ट्रको राजनीतिक र आर्थिक मञ्च थियो । युरोपियन युनियनको सदस्य भएका देशहरुबीच कुनै अतिरिक्त शुल्कविना नै मालसामानको ओसारपसार गर्न सकिन्छ । त्यस्तै युरोपियन युनियनभित्रका देशका नागरिकले कामका लागि कुनै पनि देश छनौट गर्न सक्छन् ।

बेलायत सन् १९७३ मा युरोपियन युनियनमा समावेश भएको थियो भने युरोपियन युनियनबाट हट्ने पहिलो राष्ट्र भएको छ । बेलायत युरोपियन युनियबाट हटिसकेकाले थप सहमतिका लागि वार्ताहरु हुनेछन् । अब दुबै पक्षले भविश्यको सम्बन्धबारे मार्गदर्शन बनाउनेछन् ।

बेलायत युरोपियन युनियन बाहिरिए लगत्तै संक्रमणकालको सुरुवात भएको छ । जुन सन् २०२० को डिसेम्बर ३१ सम्म रहनेछ । यो ११ महिनाको अवधिभर बेलायत र युरोपियन युनियनबीच ब्यापारिक सम्बन्ध उस्तै रहनेछ भने बेलायतले युरोपियन युनियनका सबै नियमहरु पालना गर्नेछ ।

युरोपियन युनियनको संसदले पनि बेलायत युरोपियन युनियनबाट बाहिरिनेसम्बन्धी सम्झौता अनुमोदन गरेको थियो। ब्रसेल्सस्थित इयु संसदमा बुधबार भएको मतदानमा ६२१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com