प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानु पर्ने रेणु दाहालको समूहको माग


प्रकाशित मिति : माघ १८, २०७६ शनिबार

त्तारुढ दल नेपाल कम्युनिस्ट(नेकपा)को केन्द्रीय समिति बैठकमा रेणु दाहालको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानु पर्ने माग गरेको छ।  १२ नम्बर समूहको टोली नेताका रुपमा शनिबार रेणु दाहालले बैठकमा धारणा प्रस्तुत गरेकी हुन् । उनले आफ्नो समूहमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणलीमा जानु पर्ने आवाज उठेको बताइन्।

रेणुले एमसीसीबारे आफ्नो समूहमा तीन खालका मत देखिएको रिपोर्टिङ प्रस्तुत गरिन्। पहिलो एमसीसी कुनै हालतमा स्वीकार गर्न नहुने, दोस्रो समृद्धिको आधार भएकाले तत्काल स्वीकार गर्नुपर्ने र तेस्रोमा एमसीसीप्रतिको बुझाइमा एकरुपता ल्याई राष्ट्र हितविपरितका प्रावधानलाई संशोधन गरेर मात्रै प्रक्रिया अगाडि बढाउनु पर्ने धारणा उठेको रेणुले बताइन्।

नेकपा को जारी केन्द्रीय कमिटी बैठकमा आज विभिन्न ११ समूहले आफ्नो प्रतिवेदन पेश गरेका छन् । राष्ट्रियसभागृहमा जारी बैठकमा समूहगत छलफलपछि समूहले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन् ।

आज समूह–३ का नेता खिमलाल भट्टराई, समूह–४ का नेता जगन्नाथ खतिवडा, समूह–५ का नेता ठाकुर गैरे, समूह–७ का नेता पूर्णाकुमारी सुवेदी, समूह–१२ का नेता रेणु दाहालले समूहगत छलफल गरेर प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदन पेश गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको कडा आलोचना गरेका छन् ।यसैगरी समूह–१ बाट आनन्द पोखरेल, समूह–८ का नेता बिन्दा पाण्डे, समूह–१० का नेता महेश बस्नेत, समूह–११ का नेता राजेन्द्र राई, समूह–१४ का सुरेन्द्रकुमार कार्की र समूह–१५ का नेता हिमाल शर्माले पनि प्रतिवेदन पेश गरेका छन् ।

शुक्रबार समूह–२ बाट कमला रोका, समूह–६ बाट दीनानाथ शर्मा, समूह–१३ का नेता लेखनाथ न्यौपाने र समूह–९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गरेका थिए । समूह नेताको प्रस्तुति सकिएपछि आइतबार पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका रहेको छ । नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक यही माघ १५ गतेदेखि शुरु भएको हो । बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com