५ एयरलाइन्सले बन्द गरे नेपाल चीनबीचको उडान
प्रकाशित मिति : माघ २०, २०७६ सोमबार
कोरोनाभाइरसको सङ्क्रमणको क्रम बढेसँगै नेपाल आउने गरेकामध्ये पाँच वायुसेवा कम्पनीले हाललाई उडान बन्द गरेका छन्।
एअर चाइना, सिचुवान, चाइना इष्टर्न, टिब्बेटियन एअर र हिमालयन एअरले नेपाल चीन विमान सेवा बन्द गर्ने भएका हुन्।
अधिकांशले फेब्रुअरी २८ तारिखसम्मका लागि उडान बन्द गर्ने भएका हुन्।
चीनबाट नेपालमा हुने उडान र तिनमा नेपाल आइपुग्ने पर्यटकको सङ्ख्या घट्ने क्रम जारी रहेको छ।
चीनमा कोरोनाभाइरसको सङ्क्रमण र त्रास बढेपछि हवाईयात्रुको सङ्ख्या घटेको र त्यसैले नेपाल उडान भर्ने केही प्रमुख चिनियाँ वायुसेवाले नेपाल उडान फेब्रुअरी २८ तारिखसम्मका लागि स्थगित गर्ने भएका हुन्।
चाइना सदर्नले बिहानको उडान बन्द गरेको छ र बेलुकाको भने हालसम्म जारी राखेको छ ।
टिबेट एअर र सिचुआन एअरलाइन्सले पनि काठमाण्डूलाई विभिन्न चिनियाँ शहरसँग जोड्दै आएका छन्।
चीनका बेइजिङ र चोङचिङलगायतका शहरमा उडान गर्ने नेपालको हिमालय एअरलाइन्सले पनि हाललाई आफ्ना अधिकांश उडान रद्द गरेको बताएको छ।
कोरोनाभाइरस सङ्क्रमणका कारण अहिलेसम्म ३६२ जनाको ज्यान गइसकेको छ भने १७ हजार ३ सय भन्दा बढी सङ्क्रमित भएको पुष्टि भएको छ ।
नेपालको अध्यागमन विभागका अनुसार चीनमा भाइरस सङ्क्रमण बढेसँगै नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ। जनवरीमा झन्डै १४ हजार चिनियाँ नेपाल आएका थिए।
गत साता त्रिभुवन विमानस्थलबाट हुने चिनियाँ आगमन निकै कम भएको थियो। विभागका अनुसार जनवरी २७ मा १९५ चिनियाँ नेपाल आइपुगेका थिए। जनवरीमा २८ मा त्यो सङ्ख्या १७४ मा झरेको छ।
फेब्रुअरी १ तारिखमा १५९ चिनियाँ आएका थिए भने २ तारिखमा १७७ जना चिनियाँ त्रिभुवन विमानस्थलबाट भित्रिएको विभागको भनाइ छ।