घातक बन्दै कोरोना, चीनमा एकैदिनमा ९७ को मृत्यु, जापान क्रुजसिपमा २४ अमेरिकनमा संक्रमण
प्रकाशित मिति : माघ २७, २०७६ सोमबार
चीनमा कोरोना भाइरसको संक्रमण झन् घातक बन्दै गइरहेको छ । हिजोमात्र चीनमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा ९७ को ज्यान गएको छ ।
घातक कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ९१० नाघेको छ । आइतबारमात्र भाइरस संक्रमणबाट चीनमा ८९ जनाको मृत्यु भएको थियो । ज्यान लिनेमा कोरोनाले सार्सलाई उछिनेको छ ।
चीनमामात्र कोरोनाको संक्रमणबाट ९०८ जनाको मृत्यु भएको छ । त्यो बाहेक फिलिपिन्समा एकजना र हंगकंगमा एकजनाको मृत्यु भएको छ । सन् २००२ र सन् २००३ मा सार्सबाट ७७४ जनाको मृत्यु भएको थियो । सार्सबाट ८०९६ जना संक्रमित भएका थिए ।
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार नाघेको छ । गत डिसेम्बरबाट फैलिन सुरु गरेको कोरोना भाइरसको संक्रमण युहानको जलाहार बजारबाट फैलिएको थियो ।
यसैबीच कोरोना भाइरसबिरुद्ध लड्ने भ्याक्सिन बनाउन कम्तीमा पनि एकबर्ष लाग्ने शोधकर्ताहरुले बताएका छन् । यो भ्याक्सिन सबैभन्दा छिटो तयार भएमा सन् २०२१ को जनवरीमा आउने उनीहरुको भनाई छ ।
जापानको क्रुजसिपमा १३५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ, जसमध्ये कम्तीमा २४ जना अमेरिकन रहेका छन् ।