कोरोनाबाट फिल्म निर्देशकसहित परिवारकै मृत्यु
प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार
चीनमा कोरोना भाइरसको संक्रमणबाट चिनियाँ फिल्म निर्देशकको मृत्यु भएको छ । उनीसँगै उनकी बहिनी, बाबु र आमाको पनि मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरु वुहानका बासिन्दा थिए । ५५ वर्षका चाङ काईको फेब्रुअरी १४ मा मृत्यु भएको थियो । त्यसको दुई हप्ताअगाडि बाबुआमाको मृत्यु भएको थियो भने चाङको मृत्यु भएको केही घण्टापछि बहिनीको पनि मृत्यु भयो र उनकी श्रीमती पनि भाइरसको संक्रमणबाट गम्भीर छिन् । उनीहरु सबै घरमै क्वारेन्टाइनमा थिए ।
जनवरीको अन्त्यमा बिरामी परेपछि चाङले बुबालाई घरमै राखेर हेरचाह गरेका थिए । उनले धेरैपटक अस्पताल जाँदा पनि त्यहाँ बुबाको उपचारका लागि ठाउँ पाएका थिएनन् । २८ जनवरीमा उनका बुबाको मृत्यु भयो, त्यसभन्दा अगाडि नै परिवारका सबै सदस्य संक्रमित भइसकेका थिए ।
चाङको आमाको पनि केही दिनमा मृत्यु भयो, त्यसपछि उनी गम्भीर बिरामी परेका थिए । हुबेई प्रान्तमा संक्रमणबाट मृत्यु हुनेको संख्या चीनका अन्य प्रान्तमा भन्दा धेरै छ । सरकारले नयाँ अस्पताल निर्माण गर्ने र प्रदर्शनी केन्द्रजस्ता ठाउँलाई अस्थायी मेडिकल सेन्टरमा रुपान्तरण गरे पनि अझै धेरै बिरामीहरु अस्पतालका लागि संघर्ष गरिरहेका छन् ।
केही बिरामी राम्रो स्वास्थ्य उपचारका बावजुद पनि मरेका छन्, वुहान अस्पतालका प्रमुख तथा अर्का एक चिकित्सकको पनि संक्रमणबाटै मृत्यु भएको थियो ।