एसियापछि कोरोना संक्रमणको प्रकोप सबैभन्दा धेरै इटलीमा, १३० जनामा संक्रमण
प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार
एसियापछि कोरोना संक्रमणको प्रकोप सबैभन्दा धेरै इटलीमा देखिएको छ । अहिलेसम्म इटलीमा १३० जनामा संक्रमण भइसकेको छ । इटलीमा ७८ बर्षका एकबृद्ध र ७७ बर्षकी एक बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
इटलीमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित १० गाउँहरु शनिबारदेखि शटडाउन गरिएको छ । ती गाउँहरुमा ट्रेनहरु समेत नरोकिने भएको छ ।
साउथ कोरियामा कारोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ६ सय नाघेको छ । साउथ कोरियामा मात्र भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वब्यापी रुपमा भने कोरोना संक्रमितको संख्या ७८ हजार ८ सय ५४ नाघेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म २४६५ जनाको मृत्यु भइसकेको छ जसमध्ये २० को मृत्यु चीनबाहिर भएको हो ।
इरानमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएपछि कुवेतले इरानमा रहेका आफ्ना ७ सय जना नागरिकलाई विमान चार्टड गरेर फिर्ता लैजाने भएको छ । इजरायलले विदेशी पर्यटकमाथि प्रवेशमा कडाई गरेको छ । इजरायलले विगत १४ दिनमा साउथ कोरिया र जापान गएकाहरुलाई समेत प्रवेशमा रोक लगाएको छ ।
अमेरिकाले आफ्ना नागरिकलाई साउथ कोरियाको भ्रमणमा जाँदा सावधानी अपनाउन चेतावनी दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले यात्रा चेतावनी जारी गर्दै सावधानी अपनाउन भनेको हो ।
यसैबीच जापानमा कोरोना संक्रमितको संख्या ७३८ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । अमेरिकामा ३५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
त्यस्तै सिंगापुरमा ८९ जनामा कोरोना संक्रमण भइसकेको छ । यसैबीच जापानको क्रुजसिपमा कोरोना संक्रमण हुनेहरुमध्ये ३ जनाको मृत्यु भएको छ ।