न्युयोर्कमा ज्यान गुमाएका १० बर्षे बालक श्री पन्थी : एउटा फुल जो फक्रनै पाएनन्


प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार

– किशोर पन्थी

‘ऊ सुत्ने गरेको कोठामा जानै मन लाग्दैन ।’ –  उनले गला अबरुद्ध पार्दै भने ।

उनी अर्थात् पुरुषोत्तम पन्थी । जसले अमेरिकाको न्युयोर्कमा आफ्नो १० बर्षको छोरा श्री पन्थीलाई गुमाए ।

गत जनवरी ७ मा न्युयोर्कको कोरोनामा १० बर्षका श्री पन्थीलाई न्युयोर्क सिटीकै फोहोर फ्याक्ने ट्रकले ठक्कर दिंदा मृत्यु भएको थियो । श्री पन्थी विहानै स्कुल जाँदै थिए, साथमा आमा मिना पनि थिइन् । दुबैजनालाई ट्रकले ठक्कर दियो ।

ट्रकको ठक्करबाट घाइते दुबैजनालाई नजिकैको अस्पतालमा लगियो । तर डाक्टरले श्रीलाई बचाउन सकेनन् ।

 

श्रीको कविता जसमा उनले भनेका छन् – ‘मृत्यु नजिकै छ, दुख बढ्दैछ, हामी मर्दैछौं ।

गम्भिर घाइते आमा मिना अहिलेपनि अस्पतालको बेडमा नै छिन् ।

जनवरी ७ । पुरुषोत्तम पन्थीको परिवारका लागि कालो दिन बनेर आयो । त्यो यता पुरुषोत्तमले एउटा बाबु र श्रीमान्का रुपमा भोगेको पीडा व्यक्त गर्न असम्भव छ ।

संसारमा बाबुआमा गुमाउनेहरुलाई टुहुरो भन्छन्, श्रीमान् वा श्रीमति गुमाउनेहरुलाई बिदुर वा विधवा भन्छन् तर छोराछोरी गुमाउनेलाई भन्ने शब्द समेत छैन । त्यसैले सबै पीडामाझ पनि छोराछोरी गुमाउनेहरुको पीडा अकल्पनीय र अव्यक्त हुन्छ ।

‘उसले प्रयोग गरेका बस्तुहरु देख्यो कि उसको यादमात्र आउँछ । त्यसैले म ऊ सुत्ने गरेको कोठामा जान पनि सकेको छैन ।’ –  ४५ दिनको पुण्यतीथिको दिनमा पुरुषोत्तमले आफ्नो पीडा यसरी सुनाए ।

श्री सुत्ने विस्तारा । उनी यिनै खेलौनाहरुसँगै सुत्थे ।

हुन पनि छाडेर जानेहरु त गइहाल्छन् । तर उनीहरुले छाडेका सम्झनाहरु बस्नेहरुका लागि पीडा बनेर समेत बल्झिन्छन् । हरेक क्षण र बस्तुहरुमा उनीहरुको सम्झना गाँसिएको हुन्छ ।

‘यी यो ल्यापटपमा सबै स्टीकर उसैले लगाएको हो ।’ –  स्टीकरले भरिएको ल्यापटप देखाउँदै पुरुषोत्तम भन्छन् ।

चाहे ल्यापटप देख्दा होस्, चाहे किचनमा कोरेका र टाँसेका आकृति देख्दा होस् । चाहे बेडरुमको ढोकामा टाँसिएका स्टीकर र कोटेशन देख्दा होस्, चाहे श्री सुत्ने गरेको बेड देख्दा होस्, त्यहाँ केबल श्री कै अनुहार र सम्झनामात्र झलझली आउँछ ।

‘यी यही बेडमा सुत्थ्यो श्री । यीनैसँग सुत्थ्यो ।’ –  श्री सुत्ने गरेको बेड देखाउँदै पुरुषोत्तमले भने । पुरुषोत्तमले श्रीसँगै सुत्ने गरेका खेलौनाहरु बेडमा राखे । अनि फेरी मौन बसे । उनी केही बोल्न खोजे तर व्यक्त गर्न सकेनन् ।

त्यहाँ श्रीले प्रयोग गर्ने बेड थियो, तर श्री थिएनन् । त्यहाँ उनले खेल्ने सामाग्रीहरु थिए तर श्री थिएनन् । उनले पढ्ने पुस्तकहरु थिए, लगाउने कपडाहरु थिए, तर श्री थिएनन् । केवल सम्झनामात्र बाँकी थियो ।

तर कहिलेकाँही अब श्री भौतिक रुपमा यो संसारमा छैनन् भन्ने नै विश्वास लाग्दैन पुरुषोत्तमलाई । सबै सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ, एउटा खराब सपना ।

ट्रकको ठक्करबाट छोरा श्रीको ज्यान गएपछि र पत्नी मिना घाइते भएपछि पुरुषोत्तमलाई भगवानप्रति पनि विश्वास लागेन । आफूले आस्थाराखेको भगवानबाटै आफूमाथि यति ठूलो अन्याय होला भन्ने उनले सोंचेका थिएनन् । तर पछि छोरालाई गुमाएपनि भगवानले श्रीमतिलाई त जोगाए, हात थापे । यही सम्झेर चित्त बुझाए ।

श्रीको तस्वीर हेर्दै पिता पुरुषोत्तम ।

श्रीमति मिना डेढमहिनादेखि अस्पतालको बेडमा छिन् । अझै एकडेढमहिना अस्पतालकै बेडमा रहनुपर्नेछ । दर्जनबढी साना ठूला सर्जरीहरु भइसकेका छन् । पुरुषोत्तम हरेक दिन खाना लिएर अस्पताल पुग्छन् । श्रीमति सुतिरहेको अस्पतालको बेड छेउमा बसेर घण्टौं बिताउँछन् । अचेल प्राय रातीमा पनि त्यतै बस्छन् ।

मिना त घाइते भएर अस्पतालमा नै छिन् । तर पुरुषोत्तम घरमा आउने जाने गर्दा छोराको सम्झनाले बेलाबेलामा भक्कानिन्छन् । बाटोमा हिड्दा कोही बालक झोला बोकेर हिडेको देखे पनि श्री कै याद आउँछ । कोही खेलेको देखेपनि श्री कै याद आउँछ । हरेक दिन दुर्घटनास्थल भएरै आउने जाने गर्नुपर्छ, त्यहाँ पुग्न बित्तिकै उनको मुटु अझ चर्किन्छ ।

‘उसलाई गुमाएदेखि औषधी नखाई सुत्नै सकेको छैन । अहिले त प्रेसर पनि बढेको छ ।’ –  टेवुलमा राखेको औषधी खाँदै उनले भने ।

एकातिर छोरा गुमाउनुको पीडा । अर्कोतर्फ घाइते श्रीमतिको हेरविचार गर्नुपर्ने अवस्था । कानुनी लडाईको प्रकृयाका लागि दौडधुप । कारण एउटा मात्रै छैन, त्यसैले रातीमा निद्रा पनि नजिक पर्न खोज्दैन ।

अहिलेसम्म काममा जान पनि सकेका छैनन् । झण्डै एकमहिना त गाडी चलाउन पनि सकेनन् । तर अहिले विस्तारै गाडी चलाउन सुरु गरेका छन् । भन्छन् – ‘के गर्नु ? सबै कुरा सहनुको विकल्प रहेनछ ।’

श्रीको तस्वीरहरु देखाउन मोबाइलको ग्यालरी खोल्छन् । त्यहाँ सयौं तस्वीर छन् । तर उनलाई हरेक तस्वीर विशेष लाग्छन् । बाल्यकालका तस्वीर, सुपा देउराली जाँदाका तस्वीर, जावलाखेल चिडियाखानामा जाँदाका तस्वीरदेखि ब्रोंक्स जुमा जाँदासम्मका तस्वीर । हरेक तस्वीरमा श्रीका सम्झना छन् ।

जब उनी तस्वीर हेर्छन्, श्रीकै सम्झना भिडियोबनेर मस्तिष्कमा आउँछ । कहिले श्रीले कविता सुनाउँदाको भिडियो हेर्छन् त कहिले नाचगान गर्दाको र रमाउँदाको भिडियो हेर्छन् ।

‘ऊ मेरो छोरामात्र थिएन, मेरो साथी पनि थियो । केही कामका लागि समेत मैले उसको सल्लाह लिन्थें । हामी बाबुछोरा कवितामा प्रतिस्पर्धा गथ्र्यौ ।’ –  उनी श्रीले कविता भन्दाको भिडियो देखाउँदै भन्छन् – ‘उसले युट्युबमा अन्तरिक्षसम्बन्धि भिडियो हेथ्र्यो । अनि हामी त्यसबारेमा बहस गथ्र्यौ । मैले कहिलेकाँही कविता लेख्थें । अनि हामी रमाइलोका लागि बाबुछोरा कवितामा प्रतिस्पर्धा गथ्यौं ।’

श्रीले ढोकामा लगाएको कोटेशन र अन्य स्टीकर ।

अबको केही दिनमा श्रीको जन्मदिन आउँदैछ । तर त्यहाँ श्री हुनेछैनन् । हुनेछन् त केवल उनीसँगका सम्झनामात्र ।

सन् २००९ को मार्च २१ मा नेपालको वुटवलमा जन्मिएका थिए श्री । त्यतीबेला पुरुषोत्तम काठमाडौंमा थिए । तपोवनमा एउटा कार्यक्रममा सहभागी भइरहँदा उनले छोरा जन्मेको खबर पाए । विजयकुमार, कृष्णप्रसाद भट्टराई लगायत सहभागी रहेको उक्त कार्यक्रममा भएको बखत नै उनले श्री जन्मेको कुरा फोनमार्फत थाहा पाए ।

कान्छोछोरा श्री जन्मिएपछि पुरुषोत्तमको खुशीको सिमा थिएन । झण्डै २ बर्षका श्रीलाई नेपालमा नै छाडेर पुरुषोत्तम सन् २०११ म अमेरिका आए । त्यसको केही समयपछि श्री आमा मिना र दाई प्राञ्जलका साथमा सन् २०१३ को अक्टोबर ४ मा अमेरिका आए । त्यतीबेला उनी जम्मा ४ बर्षका थिए ।

ज्याक्सनहाइटको ७६ स्ट्रीटमा प्रि केमा भर्ना भए । प्रिके सकेपछि समर स्कुलमा भर्ना भएका थिए । त्यसपछि उनले क्यु ८६, पीएस १३ मा अध्ययन गरे । पछिल्लो चरणमा उनी फोर्ड ब्रेभ चार्टड स्कुलमा ५ कक्षामा अध्ययरत थिए ।

अमेरिका आउनु अगाडि नै श्रीले नेपालमै हजुरबा र हजुरआमासँग नेपाली अक्षरहरु सिकेका थिए । खासमा उनमा हजुरबाको प्रभाव विशेष थियो । श्री पुस्तकहरु पढ्न रुचाउँथे । भविश्यमा अन्तरिक्ष वैज्ञानिक बन्न चाहन्थे ।

उनी किताब विना कहिले पनि सुत्नैनथे ।

उनलाई अन्तरिक्षका बारेमा निकै रुची थियो । उनी यसबारेमा बारम्बार प्रश्न सोध्थे । त्यससम्बन्धि पुस्तक पढ्न र संग्रहालयको भ्रमण गर्न रुचाउँथे । उनको विद्यालयले उनलाई हरेक शनिबार योर्क कलेजको नासा कार्यक्रममा सहभागी गराउने निर्णय गरेको थियो ।

प्रकृति र विज्ञानका बारेमा उनी निकै जिज्ञासु थिए । उनले विज्ञानसँग सम्बन्धित चलचित्र र भिडियो हेर्न रुचाउँथे । उनी अल्बर्ट आइन्सटाइनको सिद्धान्तबारे छलफल गर्न मन पराउँथे । स्टेफन हकिन्स र अन्य प्रेरक व्यक्तिका बारेमा पढ्न रुचाउँथे ।

उनी निकै निडर थिए ।

त्यो बोहक श्रीलाई नाचगानमा र मञ्चमा बोल्नमा पनि निकै रुची थियो । उनी विभिन्न कार्यक्रममा सहभागी भएर कैयनपटक बोलेका पनि थिए । उनले नाचगानमा कैयन प्रतियोगितामा सहभागी भएर पुरस्कार समेत प्राप्त गरेका थिए । उनी अमेरिकाको न्युयोर्कमा सम्पन्न पहिलो अमेरिका नेपाल प्रतिभा प्रतियोगितामा दोश्रो समेत भएका थिए । उनी नेपालीमात्र नभई अन्य प्रकारका डान्समा पनि स्कुलमा सहभागी हुने गर्थे ।

‘हामीले कुनै फर्निचर किनेर ल्याउँदा उसले हामीले भन्दा निकै छिटो जोड्थ्यो ।’ –  पुरुषोत्तम सम्झिन्छन् ।

श्रीलाई सामाजिक काममा पनि रुची थियो । भन्थे – ‘नेपालमा गएर सामाजिक क्षेत्रमा पनि सहयोग गर्नेछु ।’

वास्तवमा श्री एउटा स्टार थिए । जो पृथ्वीमा चम्कन नपाउँदै आकाशमा गए ।

श्री जन्मेको खबर फोनमार्फत पाएका पुरुषोत्तमले मृत्युको खबर पनि फोनबाटै पाए । काममा जाँदै गर्दा अचानक फोन आयो । फोनमा पुरुषोत्तमलाई पत्नी मिना घाइते भएको खबर सुनाइयो । तर छोराको बारेमा केही भनिएन ।

काममा जाँदै गरेका पुरुषोत्तमले तुरुन्तै गाडी फर्काए । बाटोमा आउँदै गर्दा श्रीको स्कुलबाट पनि फोन आयो । त्यसपछि उनले दुर्घटनामा छोरापनि परेको थाहा पाए । उनको मनमा बेचैनी भयो । झण्डै एकघण्टाको दुरी पार गरेर अस्पतालसम्म आइपुग्न पनि उनलाई निकै लामो समय जस्तो लाग्यो । बाटोमा आउँदै गर्दा उनले अस्पतालमा पनि फोन गरे ।

अस्पतालमा गएपछि सुरुमा पुरुषोत्तमलाई श्रीमति मिनासँग भेट गराइयो । त्यसपछि दोश्रो तल्लामा लगियो ।

‘मैले छोरा श्रीको अवस्थाबारे सोधें । उनीहरुले केही जवाफ दिएनन् । अत्यन्तै गम्भिर अवस्थामा रहेको र अपरेशन कक्षमा रहेको बताए ।’ –  पुरुषोत्तमले भने ।

एकैछिन कुरेपछि श्रीमति मिनालाई पनि ल्याए । त्यसपछि पुरुषोत्तमलाई अपरेशन कक्षमा जान दिइयो, जहाँ पन्ध्र बीस जना डाक्टर र नर्सहरु श्रीको वरपर थिए । त्यहाँ पुगेर पुरुषोत्तमले श्रीको हात छामे । डाक्टरहरुले बचाउने प्रयास गरिरहेका थिए । तर श्रीलाई बचाउन भने सकेनन् । विहान ११ बजेतिर मृत घोषणा गरियो ।

यो खबर एकैछिनमा न्युयोर्कमा रहेको नेपाली समुदायका साथै सबैतिर फैलियो । न्युयोर्कमा मेयर बिल ब्लाजिओदेखि स्थानीय नेताहरु, कलाकारहरु सबैले सामाजिक सञ्जालमाफर्त समवेदना व्यक्त गरे । कैयनले भेटेरै समवेदन दिए । घटनाबाट स्तब्ध अमेरिकाको नेपाली समुदायले पनि भेटेर र सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली र समवेदना दिए ।

नेपाली समुदायबाहेक अन्य समुदाय, संघ संस्थाहरुले पनि समवेदना र श्रद्धाञ्जली दिए । घटनास्थलमा गरिएको श्रद्धाञ्जली कार्यक्रममा पनि स्थानीय समुदायको उपस्थीति रह्यो ।

‘हाम्रो दुखको घडीमा साथ, सहयोग र समवेदना दिनुहुने सबैप्रति आभारी छौं । भेटेर, फोनमार्फत, सामाजिक सञ्जालमार्फत समवेदना र श्रद्धाञ्जली दिनुहुने सबैलाई धन्यवाद छ । हामी यो सद्भाव सधैभरी सम्झिरहनेछौं ।’ –  पुरुषोत्तमले भने ।

पुरुषोत्तम पन्थी आफै सामाजिक कृयाकलापमा सहभागी हुँदै आएका छन् । श्रीको पनि सामाजिक काममा रुची थियो । त्यसैले श्रीको सम्झनामा गैरनाफामुलक संस्था दर्ता गरेर अगाडि बढाउने प्रकृया पनि सुरुवात गरिएको छ ।

‘सबै बालबालिकाहरुले फक्रने अवशर पाउन् । यसरी कुनै फक्रदै गरेको फुललाई नकुल्चियोस् । आफ्ना आमाबुबाको हातबाट कसैको बच्चा यसरी खोसिन नपरोस् ।’ –  पुरुषोत्तमले गला अबरुद्ध पार्दै भने ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com