अमेरिकी विदेशमन्त्रालयबाट पनि आजैदेखि पब्लिक चार्जको नियम कार्यान्वयन
प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार
अमेरिकी सरकारको विदेश मन्त्रालयले पनि अमेरिकामा सरकारी सुविधा लिने सम्भावना हुनेहरुलाई भिसा अस्वीकार गर्नसक्ने पब्लिक चार्जको नियम कार्यान्वयन सुरु गरेको छ । अमेरिकी विदेशमन्त्रालयका एक अधिकारीले आजैदेखि विदेशमन्त्रालयले पनि पब्लिक चार्जको नियम कार्यान्वयन सुरु गरेको खसोखासलाई जानकारी दिएका हुन् ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आजैदेखि पब्लिक चार्जको नियम कार्यान्वयन सुरु गरेकोमा त्यसमै एकरुपता ल्याउन विदेशमन्त्रालयले पनि भिसामा यो नियम कार्यान्वयन सुरु गरेको हो । यो नियम अनुशार भिसा कन्सुलर अफिसरले अमेरिकी अध्यागमन ऐनमा आधारित रहेर आवेदकले सरकारी सुविधा लिने सम्भावना भए नभएको निर्धारण गर्ने जनाइएको छ ।
आवेदकको उमेर, स्वास्थ्य, पारिवारिक अवस्था, सम्पत्ति, शिक्षा, दक्षता, स्पोन्सरकर्ताले पठाएको स्पोन्सर फर्म वा कानुनले निर्धारण गरेको अन्य कुनै मापदण्डमा आधारित रहेर सरकारी सुविधा लिने नलिने निर्धारण गरिने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । तर भिसासँगै सोमबारदेखि नै डीएस ५५४० फर्म भर्नु पर्ने वा नपर्नेबारे अमेरिकी विदेशमन्त्रालयका अधिकारीले केही बताएनन् ।
यसैबीच अमेरिकी विदेशमन्त्रालयले अमेरिकामा सरकारी सुविधा लिने सम्भावना हुनेहरुलाई अमेरिकी भिसा अस्वीकार गर्न सकिने प्रावधान सहितको पब्लिक चार्ज प्रश्नावली प्रकाशित गरेको छ । डीएस ५५४० नामको यो फर्म हरेक आप्रवासी भिसा आवेदकहरुले अनिवार्य भर्नुपर्नेछ भने कतिपय गैरआप्रवासी भिसा आवेदकलाई समेत अमेरिकी दूतावासले यो फर्म भर्न लगाउनसक्नेछ ।
अमेरिका आएर सरकारी सुविधा लिने सम्भावना भए नभएको जाँच्न अमेरिकी दूतावासमा भिसा आवेदनका साथमा यो फर्म भरेर बुझाउनुपर्ने भएको छ । अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले सोमबारदेखि पब्लिक चार्जसम्बन्धि नियम लागु गर्न लागेकोमा त्यही मितिबाट विदेशमन्त्रालयले यो नियम लागु गर्न खोजेको हो ।
अमेरिकी भिसा प्राप्त व्यक्तिलाई अमेरिका प्रवेश गर्ने क्रममा पोर्ट अफ इन्ट्रीमा बाधा उत्पन्न नहोस् भन्ने उद्देश्यले विदेश मन्त्रालयले एकैपटक यो नियम कार्यान्वयनमा ल्याउन खोजेको हो । अन्यथा अमेरिकी भिसा प्राप्त गरेर पोर्ट अफ इन्ट्रीमा आइसकेको व्यक्तिलाई सरकारी सुविधा लिने सम्भावना भएको आधारमा फर्काउन सकिने खतरा रहनेछ ।
यो फर्म डीएस ५५४० अनलाइनमा उपलब्ध भइसकेको छ । अमेरिकामा आउनका लागि आप्रवासी भिसा आवेदन दिने व्यक्तिले डाउनलोड गरेर फर्म भर्नुपर्नेछ । फर्म भरिसकेपछि अरु कागजातका साथमा सिस्टममा अपलोड गर्नुपर्नेछ । गैरआप्रवासी भिसा आवेदकहरुलाई जसलाई यो फर्म भर्न आवश्यक छ, उसले इमेलमार्फत वा हार्डकपी दूतावासमा पठाउनुपर्नेछ ।
यो फर्म विभिन्न ९ भागमा रहेको छ भने १८ प्रकारका प्रश्नावलीहरु रहेका छन् । स्वास्थ्यविमा भए नभएको, अमेरिका प्रवेशको ३० दिनभित्र स्वास्थ्य विमा लिने नलिने, अमेरिकामा हुने सम्भावित परिवारको आकार, आवेदकको सम्पत्ति विवरण, आम्दानी विवरण, बार्षिक खर्च विवरण फर्ममा उल्लेख गर्नुपर्नेछ ।
त्यस्तै अमेरिकामा गएपछि रोजगार दिनेको विवरण, अमेरिका गएपछि गर्ने बार्षिक कमाई, अमेरिकामा गइसकेपछिपनि घरभाडा, स्टक, विदेशी पेन्सन लगायत निरन्तर प्राप्त गर्ने आम्दानीको विवरण, बैंकखातामा भएको रकम, घरजग्गाको विवरण, तिर्नुपर्ने ऋणको विवरण, परिवारका कुनै सदस्यले अमेरिकी सरकारी सुविधा लिएको भएमा त्यसको विवरण, अमेरिकामा गइसकेपछि सरकारी सुविधा लिने सम्भावना भए नभएकोबारे घोषणा पनि फर्ममा उल्लेख गर्नुपर्नेछ ।
त्यस्तै हाइस्कुल वा हाइस्कुलभन्दा माथिको शिक्षा भए नभएको विवरण, कुनै पेशागत दक्षता भए नभएको विवरण पनि फर्ममा भर्नुपर्नेछ ।