कोरोनाभाइरसको संक्रमित बढेसँगै डब्लूएचओले भन्यो : विश्व महामारीका लागि तयार रहनुपर्छ
प्रकाशित मिति : फाल्गुन १३, २०७६ मंगलबार
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको सम्भावित ‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले कोरोनाभाइरसलाई अहिले नै ‘महामारी’ करार गर्न चाँडो भए पनि विश्वका अन्य देशहरुले यसका लागि तयार रहनुपर्ने बताएको हो ।
‘महामारी’ भन्नाले विश्वमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने संक्रामक रोगलाई भनिन्छ । यतिबेला चीनबाहिर कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । दक्षिण कोरिया, इटाली र इरानमा यसको संक्रमणमा भएको वृद्धिले चिन्ता थपेको छ ।
अहिलेसम्म यसको सुरुवात भएको चीनमा धेरै संक्रमितहरु देखापरेका छन् । पछिल्लो तथ्याङ्कअनुसार चीनमा ७७ हजारभन्दा बढी यस रोगबाट संक्रमित भएका छन् भने २६ सय बढीले ज्यान गुमाइसकेका छन् ।
विश्वभर ३० वटा देशमा १२ सयभन्दा बढी संक्रमित भेटिएका छन् भने २० भन्दा बढीले ज्यान गुमाएका छन् । इटालीमा मात्र सोमबार थप चार जनाको मृत्यु भएको थियो ।
कोरोनाभाइरसको संक्रमण फैलिएसँगै विश्वको सेयर बजारमा ठूलो गिरावट देखिएको छ । चीनमा कोरोनाभाइरसको संक्रमणकै कारण नेसनल पिपल्स कङ्ग्रेसको बैठकलाई स्थगन गरिएको छ ।
अहिलेसम्म कोरोनाभाइरस संक्रमित मध्ये १ देखि २ प्रतिशतले ज्यान गुमाएको बताइए पनि डब्लूएचओले वास्तविक मृत्युदर पत्ता नलागेको बताएको छ ।
डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रयेससले सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै इरान, इटाली र दक्षिण कोरियामा देखिएको नयाँ संक्रमण निकै चिन्ताजनक भएको बताए । ‘अहिलेसम्म हामीले अनियन्त्रितरुपमा विश्वभर यो भाइरस फैलिएको र ठूलो सङ्ख्यामा मत्युदर देखेका छैनौँ,’ उनले भने, ‘तर के यो भाइरस महामारी बन्न सक्ने सम्भावना छ ? अवश्य छ । तर, के हामी त्यो अवस्थामा पुगेका छौँ ? हाम्रो मूल्याङ्कनमा छैनौँ ।’
यता, विश्व स्वास्थ्य संगठनको आपत्तकालिन स्वास्थ्य कार्यक्रमका प्रमुख माइक रायनले भने महामारीका लागि सबै तयारी गर्नुपर्ने अवस्थामा यो भाइरसको संक्रमण पुगिसकेको बताएका छन् ।
चीनबाहिर यतिबेला दक्षिण कोरियामा सबैभन्दा बढी ८३० जना संक्रमित छन् भने ८ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा संक्रमितको संख्या २२९ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन् । इरानमा पनि कोरोनाभाइरस संक्रमितको संख्या ६१ पुगेको बताइएको छ ।