पब्लिक चार्जका ८ कसी : जसका आधारमा ग्रिनकार्ड वा भिसा दिने नदिने निर्धारण


प्रकाशित मिति : फाल्गुन १४, २०७६ बुधबार

अमेरिकी सरकारले सोमबारदेखि लागु गरेको पब्लिक चार्जको नयाँ नियमका विभिन्न आयामहरुबारे युएससीआईएसले नीति निर्देशिकामार्फत स्पष्ट पारेको छ । आवेदक भविश्यमा पब्लिक चार्ज हुने नहुने निर्धारण गर्न युएससीआईएसका अधिकारीले ८ वटा मुख्य मापदण्डहरुको प्रयोग गर्ने भएका छन् ।

खाद्य, आवास र स्वास्थ्यका सन्दर्भमा अमेरिकामा सरकारी सुविधा लिने सम्भावना भए नभएको परीक्षण गर्न पब्लिक चार्जको नयाँ नियम ल्याइएको हो । यदि सरकारी सुविधा लिएमा वा लिने सम्भावना भएमा त्यस्ता व्यक्ति पब्लिक चार्जको नियमभित्र पर्नेछन् ।

१, पब्लिक जार्चमा पर्ने पर्ने निर्धारण गर्नका लागि अधिकारीले पहिलो कसीका रुपमा आवेदकको उमेर हेर्नेछन् । खासगरी १७ बर्षभन्दा कम र ६२ बर्षभन्दा माथिको उमेरको व्यक्तिलाई पब्लिक चार्जमा पर्नसक्ने व्यक्तिका रुपमा मुल्यांकन गरिनेछ । यदि आवेदकको उमेर १८ बर्षदेखि ६१ बर्षभित्र रहेको छ भने त्यस्ता व्यक्तिलाई पब्लिक चार्जको कसीमा सकरात्मक ढंगले हेरिनेछ ।

२, त्यस्तै पब्लिक चार्ज निर्धारण गर्ने दोश्रो कसी व्यक्तिको स्वास्थ्यलाई लिइएको छ । आवेदकमा गम्भिर खालको स्वास्थ्य समस्या भएको खण्डमा वा आवेदक दीर्घरोगी भएको खण्डमा यसलाई पब्लिक जार्चको कसीमा नकारात्मक ढंगले हेरिनेछ । अर्थात् त्यस्ता व्यक्तिलाई भविश्यमा पब्लिक चार्ज हुनसक्ने वा सरकारी सुविधा लिनसक्ने व्यक्तिका रुपमा लिन सकिनेछ ।

३, त्यस्तै आवेदकको पारिवारिक स्टाटस पनि पब्लिक चार्जको अर्को कसी हो । यदि आवेदकको परिवारको आम्दानी गरिवीको सिमारेखाभन्दा माथि रहेको छ र आवेदकले आफैलाई आत्मनिर्भर बनाउनसक्ने अवस्था छ भने यसलाई सकारात्मक रुपमा लिइनेछ । तर परिवारको आम्दानी गरिवीको सिमारेखाभन्दा माथि रहेको छ र आवेदकले आफैलाई आत्मनिर्भर बनाउनसक्ने अवस्था छैन भने आवेदक पब्लिक चार्जमा पर्नसक्ने सम्भावनाका रुपमा हेरिनेछ ।

४, त्यस्तै आवेदकको सम्पत्ति, आर्थिक अवस्था, श्रोत लगायतलाई पनि पब्लिक चार्जको मापकका रुपमा हेरिनेछ । जसमा अधिकारीहरुले आवेदकको परिवारको कुल आम्दानी, सम्पत्ति, आवेदकको क्रेडिट रिपोर्ट र स्कोर, आवेदकले युएससीआईएसको शुल्क मिनाहाका लागि गरेको आवेदन लगायतलाई हेरेर यसको मापन गर्नेछन् ।

५, त्यस्तै आवेदकको शिक्षा र दक्षतालाई पब्लिक चार्जको कसीका रुपमा हेरिनेछ । यदि आवेदकको हाइस्कुलभन्दामाथिको कुनै शैक्षिक योग्यता छैन र कुनै व्यवसायिक दक्षतापनि छैन भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । त्यस्तै कुनै कामको अनुभव नभएको र अँग्रेजी भाषाको ज्ञान कम हुनेहरुलाई पनि नकारात्मक रुपमा लिइनेछ । यदि कुनै व्यक्ति पूर्णकालिन विद्यार्थी होइन, उसलाई काम गर्न अनुमति छ तर काम गरेको छैन भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । तर कुनै पनि रोजगारप्राप्त छ र उसको आम्दानी संघीय गरिविको गाइडलाइनमा २५० प्रतिशतभन्दा माथि छ भने त्यसलाई सकारात्मक रुपमा लिइनेछ ।

६, यदि आवेदकले ग्रिनकार्डवाहेकको अन्य आवेदनका सन्दर्भमा आफू उक्त अध्यागमन स्टाटसमा रहँदा सरकारी सुविधा लिनका लागि योग्य नहुने कुरा प्रमाणित गर्न सकेमा त्यसलाई सकारात्मक रुपमा लिइनेछ । किनभने कतिपय अध्यागमन स्टाटसमा रहेका व्यक्तिले अमेरिकामा सरकारी सुविधा लिन नपाउने प्रावधान समेत रहेको छ । तर आवेदक अमेरिकामा लामो समयसम्म बस्ने, भविश्यमा ग्रिनकार्ड समेत प्राप्त गर्ने योजना रहेको भएको खण्डमा भने त्यस्ता व्यक्तिलाई पब्लिक चार्जका पर्ने सम्भावना भएको व्यक्तिका रुपमा हेरिनेछ ।

७, यदि आवेदकलाई कसैले स्पोन्सर गरेको र स्पोन्सरकर्ताको आम्दानी गरिविको रेखाभन्दा १२५ प्रतिशतभन्दा माथि छ भने त्यसलाई सकारात्मक रुपमा लिइनेछ । त्यस्तै आवेदकको स्पोन्सरकर्तासँग सम्बन्ध भएको हुनुपर्नेछ । तर स्पोन्सरले विगतमा अमेरिकामा सरकारी सुविधा लिएको छ, बैंक्रप्सी फाइल गरेको इतिहास छ, इमिग्रेशन आवेदनमा शुल्क मिनाहा लिएको छ वा धेरै आवेदकलाई स्पोन्सर गरेको छ भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । त्यसका लागि अधिकारीले आई ८६४ फर्मको पुनरावलोकन गर्नेछन् ।

८, त्यो बाहेक आवेदकको कुनै रोजगारी छैन, रोजगारीको इतिहास छैन वा भविश्यमा रोजगारीको कुनै सम्भावना छैन भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । यदि आवेदक विगतमा पब्लिक चार्जको कारण अमेरिकाबाट देशनिकालामा परेको छ भने पनि त्यसलाई नकारात्मक रुपमा लिइनेछ । तर व्यक्तिगत स्वास्थ्यविमा छ, परिवारको सम्पत्ति, आम्दानी र श्रोतहरु छ र गरिविको गाइडलाइनमा २५० प्रतिशतभन्दा धेरै आम्दानी छ भने त्यसलाई सकारात्मक रुपमा लिइनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com