अमेरिकी भिसाका लागि दूतावासले ८ हजार डलरभन्दा धेरै धरौटी माग्नसक्ने
प्रकाशित मिति : फाल्गुन १४, २०७६ बुधबार
– किशोर पन्थी
अमेरिकी सरकारको विदेशमन्त्रालयले विभिन्न दूतावासमा कार्यरत भिसा अधिकारीहरुलाई पब्लिक चार्जको नियमका आधारमा कसरी भिसा अस्वीकृत गर्ने भन्ने सन्दर्भमा आन्तरिक निर्देशिका जारी गरेको छ । निर्देशिकामा आप्रवासी र गैरआप्रवासी भिसा आवेदकले अमेरिकामा गएर सरकारी सुविधा लिने सम्भाजना भए नभएको निर्धारण कसरी गर्ने भन्ने सन्दर्भमा विस्तारमा सिकाइएको छ ।
पब्लिक चार्जको आधारमा भिजिटर लगायतका गैरआप्रवासी भिसा अस्वीकृत भएमा त्यस्ता आवेदकका लागि कानुनी रुपमा वेभर सुविधा उपलब्ध रहेको छ । तर सकभर उनीहरुलाई वेभर सुविधा नदिन भिसा अधिकारीहरुलाई निर्देशन दिइएको छ । यदि भिसा अधिकारीलाई उक्त आवेदकलाई वेभर सुविधा दिनुपर्छ जस्तो लागेमा फिल्ड अपरेशन अफिसका कन्ट्री एनालिष्टलाई सम्पर्क गर्न सुझाव दिइएको छ ।
तर भिजिटर लगायतका गैरआप्रवासी भिसा पब्लिक चार्जका आधारमा अस्वीकृत भएमा त्यस्ता आवेदक अध्यागमन ऐन २१४ (बी) अन्तरगत पनि अयोग्य हुने निर्देशिकामा जनाइएको छ । यदि आवेदक अमेरिकामा भ्रमण गरेर फर्कने आधार नभएको खण्डमा उसको भिसा २१४ (बी) अन्तरगत अस्वीकृत गरिन्छ । २१४ (बी) अन्तरगत अस्वीकृत भएको भिसामा कुनै वेभरको व्यवस्था छैन । तर आवेदकले भविश्यमा आफू ती दुबै भिसा अस्वीकृतिका आधारहरु जित्नसक्ने प्रमाण पेश गरेर भिसा कन्सुलर अफिसरलाई कन्भिन्स गर्न सकेमा भने भिसा स्वीकृत हुनसक्नेछ ।
पब्लिक चार्जको आधारमा अस्वीकृत हुने भिजिटर लगायतका गैरआप्रवासी भिसामा कानुनी रुपमा वेभरको सुविधा भएपनि उक्त आधारमा अस्वीकृत हुने आप्रवासी भिसामा भने कुनै वेभर सुविधा छैन । यद्यपी धरौटी रकम राखेर उक्त आधारमा हुने भिसा अस्वीकृति जित्न सकिने निर्देशिकामा जनाइएको छ । एभिडाभिट अफ सपोर्टको साटो आवेदकलाई धरौटी रकम राख्न लगाउन सकिने समेत निर्देशिकामा उल्लेख छ ।
केही अपवादबाहेक सबै गैरआप्रवासी भिसा आवेदकहरु पब्लिक चार्जको नियममा पर्ने निर्देशिकामा उल्लेख छ । तर यदि भिसा २१४ (बी) का आधारमा अर्थात् अमेरिकाबाट फर्कने सम्भावना नभएको आधारमा अस्वीकृत हुने देखिएमा भने पब्लिक चार्जको आधारमा अयोग्य हुनसक्ने वा नसक्नेबारे छानविन गरेर आफ्नो समय खेर नफाल्न कन्सुलर अधिकारीहरुलाई सुझाव दिइएको छ ।
निर्देशिकामा भनिएको छ – ‘एकपटक भिसा अस्वीकृत भएको आवेदकले भविश्यमा पुन आवेदन दिंदा उसको परिस्थीतिमा विगतको तुलनामा धेरै फेरवदल आइसकेको हुनसक्छ । त्यसैले प्रत्येक नयाँ आवेदनमा पब्लिक चार्जको स्वतन्त्र रुपमा आकलन गर्नुपर्छ । तर विगतमा पब्लिक चार्जको आधारमा अस्वीकृत भएको भिसाको सन्दर्भलाई तपाईले नकारात्मक तत्वका रुपमा विश्लेषण गर्नुपर्छ ।’
यदि गैरआप्रवासी भिसा आवेदक अमेरिकामा आएर र फर्कनका लागि आर्थिक रुपमा सवल छैन जस्तो लागेमा आर्थिक प्रमाण माग्न वा पब्लिक चार्ज प्रश्नावली डीएस ५५४० भर्न वा दुबै माग्न भिसा अधिकारीलाई सुझाव दिइएको छ । यदि भिजिटर लगायतका गैरआप्रवासी भिसा आवेदक अन्य सबै हिसाबले भिसाका लागि योग्य भएमा त्यस्तो व्यक्तिसँग धरौटी रकम माग्न सकिने र धरौटीको प्रकृया गैरआप्रवासी भिसाका सन्दर्भमा पनि आप्रवासी भिसाकै जस्तो भएको निर्देशिकामा उल्लेख छ ।
मंगेतर अर्थात् के भिसामा अमेरिका आउनेहरुका सन्दर्भमा फर्म आई ८६४ भर्न आवश्यक नभएकाले ती आवेदकलाई डीएस ५५४० भर्न लगाउन सकिने तथा अमेरिका आइसकेपछि अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड आवेदन दिने बेलामा युएससीआईएसको पब्लिक चार्ज परीक्षण पुन उत्तिर्ण गर्नुपर्ने जनाईएको छ । त्यस्तै उपचारका लागि आउनेहरुका सन्दर्भमा उनीहरुको उपचार खर्च परिवार, साथीहरु, परोपकारी संस्थाले बेहोर्ने सहमति पत्र पेश गर्नुपर्ने जनाइएको छ ।
गैरआप्रवासी वा आप्रवासी भिसाका आवेदकसँग धरौटी रकम माग्नुपर्ने मामला अत्यन्तै कम हुने उल्लेख गर्दै यदि धरौटी रकम लिनुपरेमा भिसा अधिकारीले एड्भाइजरी ओपनियन डिभिजनमा सल्लाह गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो अवस्थामा स्पोन्सर वा अन्य व्यक्तिले आवेदककालागि धरौटी रकम राख्न सक्ने जनाइएको छ । यो अवस्थामा भिसाको नोटमा धरौटी राखेको बारे उल्लेख गर्न र धरौटी राखेको प्रमाणपत्र भिसा रेकर्डमा स्क्यान गरेर राख्न भिसा अधिकारीलाई निर्देशन दिइएको छ ।
निर्देशिकाको पूर्ण पाठ यहाँ उपलब्ध छ ।
गैरआप्रवासी भिसाका सन्दर्भमा पब्लिक चार्जको नियम लागु गर्दा धेरै श्रोतसाधन नखर्चन निर्देशन दिइएपनि आप्रवासी भिसाका सन्दर्भमा पनि अतिरिक्त सजगता अपनाउन निर्देशन दिइएको छ । आवेदक भविश्यमा पब्लिक चार्ज हुने नहुने निर्धारण गर्न युएससीआईएसका अधिकारीलाई जस्तै भिसा अधिकारीहरुलाई पनि ८ वटा मुख्य मापदण्डहरुको प्रयोग गर्न निर्देशन दिइएको छ ।
जुन यसप्रकार छन् ।
१, पब्लिक जार्चमा पर्ने पर्ने निर्धारण गर्नका लागि अधिकारीले पहिलो कसीका रुपमा आवेदकको उमेर हेर्नेछन् । खासगरी १७ बर्षभन्दा कम र ६२ बर्षभन्दा माथिको उमेरको व्यक्तिलाई पब्लिक चार्जमा पर्नसक्ने व्यक्तिका रुपमा मुल्यांकन गरिनेछ । यदि आवेदकको उमेर १८ बर्षदेखि ६१ बर्षभित्र रहेको छ भने त्यस्ता व्यक्तिलाई पब्लिक चार्जको कसीमा सकरात्मक ढंगले हेरिनेछ ।
२, त्यस्तै पब्लिक चार्ज निर्धारण गर्ने दोश्रो कसी व्यक्तिको स्वास्थ्यलाई लिइएको छ । आवेदकमा गम्भिर खालको स्वास्थ्य समस्या भएको खण्डमा वा आवेदक दीर्घरोगी भएको खण्डमा यसलाई पब्लिक जार्चको कसीमा नकारात्मक ढंगले हेरिनेछ । अर्थात् त्यस्ता व्यक्तिलाई भविश्यमा पब्लिक चार्ज हुनसक्ने वा सरकारी सुविधा लिनसक्ने व्यक्तिका रुपमा लिन सकिनेछ ।
३, त्यस्तै आवेदकको पारिवारिक स्टाटस पनि पब्लिक चार्जको अर्को कसी हो । यदि आवेदकको परिवारको आम्दानी गरिवीको सिमारेखाभन्दा माथि रहेको छ र आवेदकले आफैलाई आत्मनिर्भर बनाउनसक्ने अवस्था छ भने यसलाई सकारात्मक रुपमा लिइनेछ । तर परिवारको आम्दानी गरिवीको सिमारेखाभन्दा माथि रहेको छ र आवेदकले आफैलाई आत्मनिर्भर बनाउनसक्ने अवस्था छैन भने आवेदक पब्लिक चार्जमा पर्नसक्ने सम्भावनाका रुपमा हेरिनेछ ।
४, त्यस्तै आवेदकको सम्पत्ति, आर्थिक अवस्था, श्रोत लगायतलाई पनि पब्लिक चार्जको मापकका रुपमा हेरिनेछ । जसमा अधिकारीहरुले आवेदकको परिवारको कुल आम्दानी, सम्पत्ति, आवेदकको क्रेडिट रिपोर्ट र स्कोर, आवेदकले युएससीआईएसको शुल्क मिनाहाका लागि गरेको आवेदन लगायतलाई हेरेर यसको मापन गर्नेछन् ।
५, त्यस्तै आवेदकको शिक्षा र दक्षतालाई पब्लिक चार्जको कसीका रुपमा हेरिनेछ । यदि आवेदकको हाइस्कुलभन्दामाथिको कुनै शैक्षिक योग्यता छैन र कुनै व्यवसायिक दक्षतापनि छैन भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । त्यस्तै कुनै कामको अनुभव नभएको र अँग्रेजी भाषाको ज्ञान कम हुनेहरुलाई पनि नकारात्मक रुपमा लिइनेछ । यदि कुनै व्यक्ति पूर्णकालिन विद्यार्थी होइन, उसलाई काम गर्न अनुमति छ तर काम गरेको छैन भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । तर कुनै पनि रोजगारप्राप्त छ र उसको आम्दानी संघीय गरिविको गाइडलाइनमा २५० प्रतिशतभन्दा माथि छ भने त्यसलाई सकारात्मक रुपमा लिइनेछ ।
६, यदि आवेदकले ग्रिनकार्डवाहेकको अन्य आवेदनका सन्दर्भमा आफू उक्त अध्यागमन स्टाटसमा रहँदा सरकारी सुविधा लिनका लागि योग्य नहुने कुरा प्रमाणित गर्न सकेमा त्यसलाई सकारात्मक रुपमा लिइनेछ । किनभने कतिपय अध्यागमन स्टाटसमा रहेका व्यक्तिले अमेरिकामा सरकारी सुविधा लिन नपाउने प्रावधान समेत रहेको छ । तर आवेदक अमेरिकामा लामो समयसम्म बस्ने, भविश्यमा ग्रिनकार्ड समेत प्राप्त गर्ने योजना रहेको भएको खण्डमा भने त्यस्ता व्यक्तिलाई पब्लिक चार्जका पर्ने सम्भावना भएको व्यक्तिका रुपमा हेरिनेछ ।
७, यदि आवेदकलाई कसैले स्पोन्सर गरेको र स्पोन्सरकर्ताको आम्दानी गरिविको रेखाभन्दा १२५ प्रतिशतभन्दा माथि छ भने त्यसलाई सकारात्मक रुपमा लिइनेछ । त्यस्तै आवेदकको स्पोन्सरकर्तासँग सम्बन्ध भएको हुनुपर्नेछ । तर स्पोन्सरले विगतमा अमेरिकामा सरकारी सुविधा लिएको छ, बैंक्रप्सी फाइल गरेको इतिहास छ, इमिग्रेशन आवेदनमा शुल्क मिनाहा लिएको छ वा धेरै आवेदकलाई स्पोन्सर गरेको छ भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । त्यसका लागि अधिकारीले आई ८६४ फर्मको पुनरावलोकन गर्नेछन् ।
८, त्यो बाहेक आवेदकको कुनै रोजगारी छैन, रोजगारीको इतिहास छैन वा भविश्यमा रोजगारीको कुनै सम्भावना छैन भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । यदि आवेदक विगतमा पब्लिक चार्जको कारण अमेरिकाबाट देशनिकालामा परेको छ भने पनि त्यसलाई नकारात्मक रुपमा लिइनेछ । तर व्यक्तिगत स्वास्थ्यविमा छ, परिवारको सम्पत्ति, आम्दानी र श्रोतहरु छ र गरिविको गाइडलाइनमा २५० प्रतिशतभन्दा धेरै आम्दानी छ भने त्यसलाई सकारात्मक रुपमा लिइनेछ ।