कामदार भिसा एचवान बीका लागि हिजोदेखि अनलाइन दर्ता सुरु, ठगीको शिकार हुनबाट बच्न दूतावासको आग्रह


प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार

अमेरिकाको कामदार भिसा एचवान बीका लागि हिजोदेखि अनलाइन दर्ता प्रकृया सुरु भएको छ । विगतका बर्षहरुमा कागजीरुपमा प्रारम्भिक दर्ता गर्नुपर्ने भएपनि योबर्षदेखि अनलाइन रजिस्ट्रेशन सुरु गरिएको हो । मार्च १ देखि सुरु भएको अनलाइन रजिस्ट्रेशन मार्च २० सम्म चल्नेछ भने मार्च ३१ सम्म लोटरी प्रकृयामार्फत आवेदन छनैट गरेर छनौट हुनेहरुलाई सुचित गरिनेछ । छनौट भएका आवेदनहरुको बाँकी प्रकृया विगतका बर्षहरुको जस्तै हुनेछ ।

यसैबीच अमेरिकी दूतावास काठमाडौंले कामदार भिसा एचवानबीका बारेमा आएका केही समाचारहरु भ्रामक भएको जनाएको छ । भिसामा नीतिगत परिवर्तनबारे आएका समाचार धेरै अर्थमा भ्रामक भएको दूतावासले जनाएको छ । कतिपय संचारमाध्यममा अमेरिकाले नेपालबाट खाडी र मलेसियामा जस्तै कामदार मागेका जस्ता समाचारहरु प्रकाशित भएका थिए । एचवानबी भिसामा नीतिगत परिवर्तन नभएपनि प्रारम्भिक दर्ता प्रकृया भने यो बर्षदेखि परिवर्तन भएर अनलाइन रजिस्ट्रेशन बनाइएको हो ।

अमेरिकी दूतावास काठमाडौंले भनेको छ – ‘हामी यहाँहरू सबैलाई कुनैपनि किसिमको अमेरिकी भिसा आवेदन गर्नु अघि त्यसका प्रकृयाको बारेमा प्रष्ट बुझ्न र यससम्बन्धी कुनैपनि दावीहरूमा विश्वास गर्नुपहिले राम्ररी त्यसबारे थाहा पाउन आग्रह गर्दछौं।’

कति नेपालीलाई एच भिसा ?

गतबर्ष अमेरिकाको कामदार भिसा एचवानबी जम्मा ६४१ जना नेपालीले प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ ।

त्यस्तै सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एचवान बी प्राप्त गरेका थिए । जसमा जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ ।

अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन सेक्सन १०१ (ए)(१५)(एच) अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ ।

यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन्, जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विशेष पेशाका लागि विशेष ज्ञान र कम्तीमा स्नातक तहको अध्ययन वा सो सरहको अनुभव हुन अनिवार्य छ ।

यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।

कामदार भिसाका लागि योग्यता

यो भिसाका लागि यसपटक अनलाइनबाट दर्ता प्रकृया सुरु गरिएको छ । तर यसको अर्थ अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।  यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ ।

गतबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ । तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर  गतबर्षदेखिको नयाँ नियम अनुशार त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाउँछन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिन्छन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउँछन् ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएकाहरुको एचवानबी कोटामा पनि अमेरिकन डिग्री होल्डरको अतिक्रमण बढाएको छ । अमेरिकाबाहिर पढ्नेहरुलाई भन्दा अमेरिकन डिग्री लिएकाहरुलाई मौका दिनका लागि नयाँ नियम ल्याइएको हो । अमेरिकामा डिग्री लिएर स्वेदश फर्किसकेको विद्यार्थीले पनि यो कार्यक्रमबाट लाभ लिन सक्छन् । उदाहरणका लागि कुनै नेपाली विद्यार्थी अमेरिकामा डिग्री लिएर नेपाल फर्किसकेको छ भने उसलाई नयाँ नियमले प्राथमिकतामा राख्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com