कोरोना संक्रमण : चीनमा घट्दै, साउथ कोरियामा फैलिदै
प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार
पछिल्लो समयमा चीनमा कोरोना भाइरसको नयाँ संक्रमणहरुमा कमी आएको छ । गत २४ घण्टामा चीनमा ११९ नयाँ संक्रमणहरु पुष्टी भएका छन् । तर यही अवधिमा साउथ कोरियामा भने १४२ जनामा संक्रमण पुष्टी भएको छ ।
साउथ कोरियामा अहिलेसम्म ५ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ३२ जनाको मृत्यु भएको छ । बिरामीहरुमध्ये २७ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।
यद्यपी चीनमा २४ घण्टाको अवधिमा थप ३८ जनाको मृत्यु भएको छ । चीनमा मृतकको संख्या २९८१ पुगेको छ भने विश्वभर मृतकको संख्या ३२०२ पुगेको छ ।
साउथ कोरियापछि सबैभन्दा धेरै इटलीमा संक्रमित भएका छन् । इटलीमा २५०२ मा संक्रमण भएको छ भने ७९ जनाको मृत्यु भएको छ । इरानमा २३३६ मा संक्रमण भएको छ भने ७७ जनाको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमितको संख्या १२२ पुगेको छ भने मृतकको संख्या ९ पुगेको छ । ७ जनाको अवस्था गम्भिर रहेको छ ।
न्युयोर्कको म्यानहटनको ल फर्ममा काम गर्ने व्यक्तिमा कोरोना संक्रमण
न्युयोर्कमा दोश्रो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । उक्त व्यक्ति न्युयोर्क राज्यका निवासी भएको र न्युयोर्क सिटीमा काम गर्ने जनाइएको छ ।ती व्यक्तिको न्युयोर्कको म्यानहटनमा रहेको प्रेस्बेटेरियन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको स्वास्थ्य विभागले जनाएको छ ।
ती व्यक्ति वेस्टचेस्टर निवासी ५० बर्षभन्दा माथिका व्यक्ति भएको जनाइएको छ । उनले म्यानहटनमा एउटा ल फर्ममा काम गर्दै आएका थिए । ती व्यक्ति फरबरी २७ मा सुरुमा वेस्टचेस्टरको लरेन्स अस्पतालमा उपचारका लागि गएका थिए । उनी लेवीस एण्ड गार्बज पीसी नामको ल फर्ममा काम गर्दै आएका थिए ।
बिरामीका दुईजना छोराछोरीहरु रहेका छन् । छोरीले ब्रोंक्समा रहेको सार एकेडेमी एण्ड हाइ स्कुलमा अध्ययन गर्दै आएकी छिन् । प्रशासनले उक्त स्कुल बन्द गरिसकेको छ । बिरामीका छोराले म्यानहटनको यसिभा युनिभर्सिटीमा अध्ययन गर्दै आइका छन् । स्वास्थ्य विभागले तीनवटै लोकेशनका सन्र्दभमा निर्देशिका जारी गरेको छ ।
यस अगाडि न्युयोर्कमा ३० बर्ष कटेकी एक महिलामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको थियो । उनलाई घरमै आइसोलेसनमा राखिएको थियो ।