प्रधानमन्त्रीलाई भेट्न, अस्पतालमा भिआईपीको लस्कर
प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री, दलका नेता, कर्मचारीलगायतले भेटेका छन् । प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटर लैजानुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्याल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलगायतले भेट गर्नुभएको हो ।
त्यस्तै, नेकपा महासचिव विष्णु पौडेल, अर्का नेता आनन्द पौडेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायतले पनि प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान अस्पताल पुगेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै उनका शुभेच्छुक तथा नेकपाका कार्यकर्ता अहिले अस्पताल परिसरमा भेला भएका छन् ।
प्रधानमन्त्रीस् ओलीको बुधबार बिहान मिर्गौला प्रयारोपण हुँदैछ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि ओलीको मिर्गौलाको दोस्रो प्रत्यारोपण हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सबै रिपोर्ट सामान्य आएको छ । उहालाई मिर्गौला प्रत्यारोपण अघि गरिएका सबै स्वास्थ्य रिपोर्ट सामान्य आएको अस्पताल स्रोतले जानकारी दिएको छ । रिपोर्ट सामान्य आएसँगै केही समयमा अप्रेसन थिएटरमा लगिदैछ । रिपोर्ट नआएपछि विहान ९ बजेबाट शुरु गर्ने भनिएको प्रत्यारोपणमा केही समय ढिलाई भएको हो ।