कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन
प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार
अहिले कोरोना भाइरसका सन्दर्भमा विभिन्न हल्लाहरु फैलिएका छन् । जोन हप्किन्स मेडिसिनकी बरिष्ठ निर्देशक लिसा मारागाकिसले यस्ता हल्लाबारे जवाफहरु दिएकी छिन् ।
के कोरोना भाइरस कोभिड १९ को भ्याक्सिन पत्ता लागेको हो ?
यो हल्ला गलत हो । अहिलेसम्म कोरोना भाइरस कोभिड १९ को भ्याक्सिन पत्ता लागेको छैन । वैज्ञानिकहरुले त्यसका काम थालिसकेका छन् । तर मानवमा सुरक्षित र प्रभावकारी हुने भ्याक्सिनको विकाश गर्न धेरै महिना लाग्ने भएकाले अहिलेसम्म तयार भइसकेको छैन । भ्याक्सिन विभिन्न परीक्षणहरुपछिमात्र मानवमा सुरक्षित र प्रभावकारी ढंगले प्रयोग गर्न सकिने भएकाले लामोसमय लाग्छ ।
के ब्लीचले मुख कुल्ला गरेर, एसिटिक एसिड वा स्टेरोइड्सको प्रयोग गरेर वा तेल, नुनपानी, इथेलन वा अन्य पदार्थले कुल्ला गरेर आफूलाई कोरोनाको संक्रमणबाट बचाउन सकिन्छ ?
सकिदैन । यस्तो हल्ला पनि गलत हो । यी कुनै पनि तरिका अपनाएर कोरोना संक्रमण हुनबाट बच्न सकिदैन । यस्तो अभ्यास उल्टो खतरनाक हुनसक्छ । कोरोना भाइरसबाट आफूलाई संक्रमण हुनबाट बचाउन सावुन र तातोपानीले बेलाबेलामा हात धुने, बिरामीहरु, खोक्ने र हाछ्यु गर्नेहरुसँग नजिकको सम्पर्क नराख्ने, आफूसँग भएका किटाणु अरुलाई फैलिन नदिन खोक्दा वा हाछ्यु गर्दा टिस्यु प्रयोग गर्ने तथा कुहिनोमा गर्नुपर्छ । बिरामी भएको खण्डमा घरमै बस्नुपर्छ ।
यो नयाँ कोरोनाभाइरस जानाजानी बनाएर वा ल्याबमा बनाएर फैलाइएको हो ?
यो हल्ला पनि गलत हो । भाइरस समयसँगै परिवर्तन हुन सक्दछ। जब सुँगुर,चमेरा वा अन्य जन्तु जनावरमा सामान्य अवस्थामा रहेको भाइरस परिवर्तन हुन्छ र मानवमा जान्छ तब रोगको प्रकोप हुन्छ। यो सम्भवतः नयाँ कोरोनाभाइरस त्यसरी नै विकाश भएको हो ।
चाइनबाट अर्डर गरेका सामानहरुमा भाइरस संक्रमण हुन्छ ?
यस्तो हल्ला पनि गलत हो । वैज्ञानिकहरुका अनुशार यस्ता भाइरसहरु सतहहरूमा धेरै समयसम्म जीवित हुँदैनन्, त्यसैले कैयन दिन वा हप्ताहरूमा ट्रान्जिटमा रहेको प्याकेजबाट यो भाइरस संक्रमण हुँदैन । यो रोग प्रायः संक्रमित व्यक्तिको हाछ्यु वा खोकीको थोपाबाट फैलिएको हो । तर यसबारेमा नयाँ नयाँ सुचनाहरु आउने क्रम भने जारी छ ।
फ्याक्ट चेक : यसरी फैलिन्छ कोरोना भाइरस, मास्क लगाउने र अन्यले अपनाउनुपर्ने सावधानी
मास्क लगाएपछि कोरोना संक्रमण हुनबाट बच्न सकिन्छ ?
यो पनि गलत हल्ला हो । एकदमै कडा टाइटफिटिंग गरेर बनाइएका मास्कका केही मोडलहरु प्रयोग गर्दा संक्रमित बिरामीहरूको हेरचाह गर्ने स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गर्नसक्छ । तर स्वासप्रश्वासको कुनै रोग नभएका सर्वसाधारणहरुलाई डिस्पोज गर्नमिल्ने हलुका खालका सर्जिकल मास्क लगाउन सिफारिस गरिएको छैन । किनभने त्यस्ता मास्कहरु टाइटफिटिंग हुँदैनन् । त्यस्ता मास्कले सानासाना संक्रमित थोपालाई नाक, मुख वा आँखामा छिर्नबाट रोक्न सक्दैनन् । हातले भाइरस भएको सतहलाई छोएर आफ्नो अनुहार मास्क मुनि छुँदा झन् संक्रमित हुन सक्छ।
श्वासप्रश्वासको समस्याले ग्रस्त व्यक्तिहरूले भने अरुलाई संक्रमण हुन नदिन यस्ता मास्कहरु प्रयोग गर्न सक्छन् । अनावश्यकहरुपमा मास्क थोपरेर राख्दा अन्य बिरामीहरू र स्वास्थ्यकर्मीहरुको लागि चाहिने मास्कको अभाव हुनसक्छ ।