८ देशका नागरिकलाई ‘अन अराइभल भिसा’ रोक
प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण धेरै देखिएका विश्वका आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिएको छ ।
अध्यागमन विभागले विज्ञप्ति निकालेर आजदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जनाएको छ । नेपालको यात्रा गर्नुअघि नै भिसा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिनुभयो र ।
अब ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ । यस्तै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले नेपालसहित १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।