चीनका १४ अस्थायी अस्पताल बन्द, विद्यालय खुल्न थाले
प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार
चीनमा कोरोना भाइरस संक्रमितको उपचारका लागि वुहानमा बनाइएका १४ वटा अस्पताल सोमबार बन्द गरिएको छ । भाइरस संक्रमितको संख्या घट्दै गएपछि ती अस्पताल बन्द गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।
सामान्य लक्षण भएका विरामीको उपचार गर्न वुहानका सार्वजनिक स्थलहरु जस्तै प्रदर्शनी केन्द्र, व्यायामशालाहरुलाई अस्थायी अस्पतालका रुपमा प्रयोग गरिएको थियो । वुहानमा यस्ता १६ वटा अस्पताल सञ्चालनमा थिए । यी अस्पतालमा १२ हजार विरामीको उपचार गरिएको थियो । बाँकी २ अस्पताल पनि छिटै बन्द गर्ने अधिकारीले बताएका छन् ।
संक्रमितको संख्या घट्दै जाँदा चीनको जनजीवन विस्तारै सामान्य बन्दै गइरहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
चीनको किङघाई प्रान्तमा १ सय ४४ विद्यालय सोमबारबाट खोलिएको छ । ग्लोबल टाइम्सका अनुसार वुहानको टियान्हे विमानस्थल पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । यस्तै, विश्व स्वास्थ्य संगठनले चीनमा ७० प्रतिशत संक्रमित निको भएको जानकारी दिएको छ ।