युरोपका २६ देशबाट अमेरिका आउनमा प्रतिबन्ध, ती देशको भ्रमण गरेका अन्य देशकालाई पनि रोक


प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार

अमेरिकी सरकारले युरोपको २६ देशबाट अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । साथै ती देशको गरेका विश्वका सबै देशका नागरिकहरुलाई अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । अमेरिका आउनुभन्दा १४ दिनको बीचमा युरोपका शेंगेन क्षेत्रको भ्रमण गरेका सबै विदेशी नागरिकहरुलाई अमेरिका आउनमा प्रतिबन्ध लगाइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारेको घोषणामा हस्ताक्षर गरेका हुन् । अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड, इटली, लाटभिया, लिचेतेनिस्तान, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्याण्डस, नर्वे, पोल्याण्ड, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्वीडेन र स्वीट्जरल्याण्डको भ्रमण गरेका विदेशी नागरिकलाई पनि अमेरिकामा प्रतिबन्ध लगाइएको हो ।

अमेरिकी ग्रिनकार्डवाहक, अमेरिकी नागरिकहरु र अमेरिकी नागरिकका नजिकका परिवारका सदस्यहरुलाई भने यस्तो प्रतिबन्ध लाग्नेछैन । गत जनवरी र फरबरीमा अमेरिकाले चीन र इरानका सन्दर्भमा पनि यस्तै प्रतिबन्धको घोषणा गरेको थियो, जुन अहिलेसम्म कायम रहेको छ ।

आगामी ४८ घण्टाभित्र अमेरिका सरकारले यसबारेमा थप निर्देशिकाहरु जारी गर्ने भएको छ । शेंगेन क्षेत्रमा गएका अमेरिकी यात्रुहरुलाई छनौट गरिएका विमानस्थलबाट यात्रा गर्नसक्नेबारे पुरक सुचना जारी गरिने भएको छ ।

यो प्रतिबन्ध अमेरिकी राष्ट्रपति ट्रम्पले अर्को आदेश जारी नगर्दासम्मका लागि लागु हुने भएको छ । पहिले नै अमेरिका आउनका लागि बाटोमा रहेकाहरुका सन्दर्भमा भने यो प्रतिबन्ध लागु नहुने जनाइएको छ । शुक्रबार राती ११ बजेर ५९ मिनेटजाँदादेखि यो प्रतिबन्ध लागु हुने भएको छ ।

यो प्रतिबन्ध शेंगेन क्षेत्रमा रहेका २६ युरोपियन देशहरुका सन्दर्भमा लागु हुने भएको छ । यसअगाडि ट्रम्पले गरेको सम्बोधनमा बेलायत बाहेक युरोपका सबैदेशहरु भनिएपनि लगत्तै सार्वजनिक गरिएको सुचनामा शेंगेन क्षेत्रमा पर्ने देशहरुमात्र रहेको स्पष्ट पारिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com