आज ५ बजेदेखि न्युयोर्कमा ५ सय भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध
प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार
न्युयोर्कमा ५ सय भन्दा बढी व्यक्ति एकैठाउँमा भेला हुन प्रतिबन्ध लगाइएको छ । कोरोना संक्रमण फैलिदै गएपछि न्युयोर्कमा यस्तो प्रतिबन्ध लगाइएको हो ।
आज बेलुका ५ बजेदेखि लागु हुनेगरी न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले यस्तो घोषणा गरेका हुन् । यो प्रतिबन्ध कम्तीमा एकमहिनाका लागि लागु हुने जनाइएको छ ।
सानासाना भेलाहरुलाई स्वीकृति दिइनेछ तर ५ सय भन्दा कम व्यक्तिका लागि तोकिएका कार्यक्रमस्थलमा क्षमताको आधाभन्दा बढी जम्मा हुन पाइनेछैन । स्कुल, अस्पताल, यातायत लगायतका क्षेत्रमा भने यस्तो प्रतिबन्ध लागुहुनेछैन ।
यस्तो प्रतिबन्धपछि अब न्युयोर्कमा ठूला कार्यक्रमहरु नहुने भएका छन् । साथै न्युयोर्कका ब्रोडवे शोहरु पनि बन्द हुने भएका छन् । ब्रोडवे शोहरु अप्रिल १२ सम्मका लागि बन्द हुने भएका हुन् ।
न्युयोर्क सिटीका कैयन विद्यालयहरु बन्द गरिएका छन् भने अर्को सातादेखि न्युयोर्कका एलिमेन्टरी स्कुलहरु बन्द गरिने भएका छन् ।
न्युयोर्कका मेट म्युजियम, मेट्रोपोलिटन ओपेरा लगायत पनि कोरोना भाइरसका कारण बन्द हुने भएका छन् ।
बिहिबारसम्म न्युयोर्कमा ३२८ मा कोरोना संक्रमण पुष्टी भएको छ । रातभरमा ११२ जनामा नयाँ संक्रमण पुष्टी भएको हो । वेस्टचेस्टरमा १४८ जनामा, न्युयोर्कसिटीमा ९५ जनामा र लंग आइल्याण्डमा ४० जनामा संक्रमण पुष्टी भएको छ ।