न्युयोर्क सिटीमा कोरोना भाइरस संक्रमणबाट पहिलो मृत्यु
प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार
अमेरिकाको न्युयोर्कको न्युयोर्क सिटीमा कोरोना भाइरस संक्रमणबाट पहिलो मृत्यु भएको छ । एकजना ८२ बर्षकी महिलाको न्युयोर्क सिटी अस्पतालमा निधन भएको हो ।
न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले शुक्रबार ती महिलाको निधन भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । ती महिलामा पहिलेदेखि नै फोक्सो सम्बन्धि रोग एम्फायसेमा रहेको थियो ।
जर्जियामा संकटकाल
यसैबीच अमेरिकाको जर्जिया राज्यमा संकटकालको घोषणा गरिएको छ । गभर्नर ब्रायन केम्पले आज विहान एक पत्रकार सम्मेलनमार्फत संकटकालको घोषणा गरेका हुन् ।
अहिलेसम्म जर्जियामा ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबारसम्म ४२ जनामा संक्रमण पुष्टी भएकोमा उक्त संख्या बढेर ६४ पुगेको हो । जर्जियामा कोरोना भाइरस संक्रमणबिरुद्ध लड्न १ सय मिलियन डलरको आपतकालिन कोष परिचालन गरिने भएको छ ।
४९ राज्यमा कोरोना संक्रमण
अहिलेसम्म अमेरिकाका ४९ राज्य, पोर्तोरिको, युएस भर्जिन आइल्याण्ड र वासिंटन डिसीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । कोरोना संक्रमणबाट मृतकको संख्या अमेरिकामा ५१ पुगेको छ ।
अमेरिकामा अहिलेसम्म २३४० मा कोरोना संक्रमण पुष्टी भएको छ । आजमात्र थप ९३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।