बेलायत र आयरल्याण्डबाट पनि अमेरिका आउनमा प्रतिबन्ध, ट्रम्पमा कोरोना परीक्षण
प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार
अमेरिकाले गएरातीदेखि युरोपका शेंगेन क्षेत्रमा पर्ने २६ देशबाट अमेरिका आउनमा लगाएको प्रतिबन्धमा युरोपका अन्य देशहरुपनि थपेको छ । बेलायत र आयरल्याण्डमाथिको प्रतिबन्ध सोमबार मध्यरातदेखि लागु हुनेछ ।
अब इरान, चीन, २६ शेंगेन देशहरु, बेलायत र आयरल्याण्डबाट अमेरिका आउनमा प्रतिबन्ध लाग्नेछ भने विगत १४ दिनभित्र यी देशको भ्रमण गरेकाहरुलाई पनि प्रतिबन्ध लाग्नेछ । तर यो प्रतिबन्ध अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र उनीहरुका नजिकका परिवारका सदस्यलाई भने लागु हुनेछैन ।
यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले हरेक अमेरिकनलाई कोरोना भाइरसको निशुल्क परीक्षण उपलब्ध गराइने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना भाइरसको परीक्षण गरेको बताएका छन् । तर परीक्षणको रिजल्ट भने आइसकेको छैन । रिजल्ट आगामी ४८ घण्टाभित्र आउने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपतिले भेटेका र हात मिलाएका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पमा भने कुनै लक्षण देखिएको छैन ।
२८ देशबाट अमेरिका आउनमा लगाइएको रोकबारे सरकारी चार्ट प्रकाशित
कसकसलाई दिइयो छुट ?
अमेरिकी सरकारले युरोपको २८ देशबाट अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । साथै ती देशको गरेका विश्वका सबै देशका नागरिकहरुलाई अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । अमेरिका आउनुभन्दा १४ दिनको बीचमा युरोपका शेंगेन क्षेत्रको भ्रमण गरेका सबै विदेशी नागरिकहरुलाई अमेरिका आउनमा प्रतिबन्ध लगाइएको हो ।
तर केही व्यक्तिलाई भने यो प्रतिबन्धबाट छुट दिइएको छ । अर्थात् उनीहरुलाई विगत १४ दिनभित्र ती देशको भ्रमण गरेको भएपनि अमेरिका आउन दिइनेछ । अमेरिकी नागरिकलाई यस्तो प्रतिबन्ध लाग्नेछैन । अमेरिकी नागरिकबाहेक यस्तो छुट पाउनेहरुमा पहिलो नम्बरमा अमेरिकाका ग्रिनकार्डवाहकहरु रहेका छन् ।
त्यस्तै अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका दम्पत्तिलाई पनि यस्तो प्रतिबन्ध लाग्नेछैन । २१ बर्ष मुनीका अविवाहित ग्रिनकार्डवाहक र नागरिकका अभिभावक वा बाबुआमामाथि पनि यस्तो प्रतिबन्ध लाग्नेछैन ।
त्यस्तै २१ बर्ष मुनीका अविवाहित ग्रिनकार्डवाहक र नागरिकका दाजुभाईदिदीबहिनीमाथि पनि यो प्रतिबन्ध लाग्नेछैन । अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका बच्चा, पालनपोषण गरेका बच्चा, धर्मसन्तानका रुपमा अमेरिका आउन लागेकाहरुमाथि पनि यस्तो प्रतिबन्ध लाग्नेछैन ।
३ महिनासम्म तलबी विदा लिनसकिने र निशुल्क कोरोना परीक्षणको बिल अमेरिकाको हाउसबाट पारित
त्यस्तै कोरोना भाइरसको संक्रमण कम गर्न अमेरिकी सरकारको निमन्त्रणामा आउन लागेकाहरुमाथि पनि यो प्रतिबन्ध लाग्नेछैन । विमान वा पानीजहाजका क्रु मेम्बरका रुपमा अमेरिका आउनेहरुलाई पनि यो प्रतिबन्ध नलाग्ने भएको छ ।
विदेशका सरकारी अधिकारीहरु र उनीहरुका परिवारका सदस्यहरुमाथि पनि यो प्रतिबन्ध लाग्नेछैन । त्यस्तै नाटो क्याटेगोरीमा भिसा पाउनेहरुलाई र संयुक्त राष्ट्रसंघको मुख्यालय सममति अनुरुप भिसा पाउनेहरुलाई पनि यो प्रतिबन्ध लाग्नेछैन ।
अमेरिकी स्वास्थ्यमन्त्रीले कुनै व्यक्तिले अमेरिकामा भाइरस नफैलाउने कुरा सीडीसी निर्देशकमार्फत ठहर गरेमा त्यस्तो व्यक्तिमाथि पनि प्रतिबन्ध लगाइनेछैन । अमेरिकी सरकारले कानुन कार्यान्वयनका लागि महत्वपूर्ण ठानेका व्यक्तिलाई पनि प्रवेशमा रोक लगाइनेछैन ।
अमेरिकाको राष्ट्रिय हितमा ठहर गरिएकाहरुलाई पनि प्रतिबन्ध लगाइनेछैन । साथै अमेरिकी सेना र उनीहरुका दम्पत्ति तथा छोराछोरीहरुलाई पनि प्रतिबन्ध लाग्नेछैन ।
अमेरिकी सरकारको यो घोषणाले एसाइलमका योग्यतामा कुनै असर नपर्ने जनाइएको छ । साथै अमेरिकाबाट देशनिकाला हुनबाट बच्ने राहतका लागि पनि यो घोषणाले कुनै असर गर्नेछैन ।