न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा ५० जनाभन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध


प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार

न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा ५० जनाभन्दा धेरै व्यक्ति एकै स्थानमा भेला हुन प्रतिबन्ध लगाइएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमो, न्युजर्सीका गभर्नर फिल मर्फी र कनेक्टिकटका गभर्नर नेड लामोन्टले यस्तो घोषणा गरेका हुन् ।

यी तीन वटै राज्यहरुमा जीमखाना, क्यासिनो र सिनेमाघरहरु बन्दको घोषणा गरिएको छ । यी सबै आज बेलुका ८ बजेदेखि अनिश्चितकालका लागि बन्द गरिनेछ ।

यसैबीच न्युजर्सीमा कर्फयु आदेश जारी गरिएको छ । त्यहाँका बासिन्दाहरुलाई अब बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

न्युजर्सीका गभर्नर फिल मर्फी यस्तो आदेश जारी गरेका हुन् । अत्वाश्यकबाहेकका अन्य काममा अब स्थानीयबासिन्दाहरु घरबाहिर निस्कन नपाउने जनाइएको छ ।

यो प्रतिबन्धबाट कस्तो प्रभाव पर्नेछ भन्ने अहिले नै आकलन गर्न मुस्किल रहेको छ । खासगरी बेलुका ८ बजेपछि काम गर्नेहरुलाई यसले पार्ने प्रभावको आकलन अहिले नै गर्न कठिन छ ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३८१४ पुगेको छ । आजै १३४ संक्रमितको संख्या थपिएको हो ।

कोरोना संक्रमणबाट मृतकको संख्या ७० पुगेको छ । आज थप २ जनाको मृत्यु भएको जनाइएको छ ।

न्युजर्सीमा मात्र कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये २ जनाको मृत्यु भएको छ ।

अमेरिकाको लस एन्जलसका रेष्टुरेण्ट, सिनेमाघर र बार मार्च ३१ सम्म बन्द हुने भएका छन् । त्यहाँका मेयर एरिक ग्रासेटीले कोरोना संक्रमणबिरुद्ध लड्न यस्तो कदमको घोषणा गरेका हुन् । आइतबार रातीदेखि नै लस एन्जलसका रेष्टुरेण्ट, सिनेमाघर र बार लगायत बन्दको घोषणा गरिएको छ ।

त्यस्तै  मंगलबारदेखि न्युयोर्कका कैयन रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका छन् । न्युयोर्कमा मंगलबारदेखि ५० हजार भन्दा धेरै रेष्टुरेण्टहरु बन्द हुने भएका छन्, जहाँ ८ लाख कामदारहरु काम गर्छन् । न्युयोर्कका मेयर बिल ब्लाजिओले भोलि यसबारे एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । जस अनुशार मंगलबार विहान ९ बजेदेखि न्युयोर्कका टेकआउट र डेलिभरीबाहेकका रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका छन् ।

त्यस्तै सिनेमाघर, कन्सर्टस्थल, नाइटक्लब, थियटरहरु पूर्णरुपमा बन्द गरिने भएको छ । आफूले यो निर्णय हलुका रुपमा नगरेको बरु न्युयोर्कले कोरोना भाइरसको कारण भोग्नुपरेको अवस्थाले बन्द गर्नुपरेको उनले बताएका छन् ।

आजै न्युयोर्कका मेयरले सोमबारदेखि विद्यालयहरु बन्दको घोषणा गरका थिए ।  मेयर  ब्लाजिओले भोलिदेखि अप्रिल २० सम्मका लागि न्युयोर्क सिटीका विद्यालयहरु बन्दको घोषणा गरेका छन् । न्युयोर्कमा विद्यालय बन्दको घोषणा नगर्दा शिक्षक र अभिभावकबाट मेयर ब्लाजिओले आलोचनाको सामना गर्नुपरेको थियो ।

मार्च २३ बाटै विद्यार्थीहरुलाई टाढैबाट सिकाउने प्रकृयाको सुरुवात हुनसक्ने मेयर ब्लाजिओले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com