सबै अमेरिकनलाई चेक पठाउन ट्रम्प प्रशासनको गृहकार्य, एकएक हजार पठाउन प्रस्ताव
प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार
कोरोनाभाइरसको संकटका कारण आर्थिक गिरावट हुन नदिन ट्रम्प प्रशासनले सबै अमेरिकनलाई चेक पठाउन गृहकार्य सुरु गरेको छ । अमेरिकी अर्थमन्त्री स्टेभन मन्चिनले अमेरिकनहरुलाई तत्कालै चेक पठाउनका लागि आफूले गृहकार्य गरिरहेको जानकारी दिएका हुन् ।
त्यस्तै अमेरिकनहरुलाई आईआरएसमा एकमिलियन डलरसम्मको रकम बुझाउनका लागि ९० दिनसम्मको समय दिइने भएको छ । एकएकहजार डलरको चेक पठाउने सन्दर्भमा मन्चिनले क्यापिटल हिलमा हुने बैठकमा कुरा गर्ने बताएका छन् ।
बर्षेनी मिलियन डलर आम्दानी गर्ने अमेरिकनलाई चेक पठाउन आवश्यक नभएको उनले बताए । तर एकएकहजार डलर चेक पठाउने सन्दर्भमा आज छलफल हुने र निष्कर्षमा पुगिने उनले बताए ।
सबैलाई एकहजार डलरको चेक आवश्यक नभएकाले कसकसलाई उपलब्ध गराउने भन्ने सन्दर्भमा स्पष्ट मार्गदिशा तय गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । आज बेलुकासम्म नै यसको टुंगो लाग्ने बताइएको छ ।
हिजोमात्र कोरोना संक्रमणबाट उत्पन्न आर्थिक अवस्थासँग जुध्न रिपब्लिकन सिनेटर मिट रोम्नीले हरेक अमेरिकी बयस्कलाई एकहजार डलर दिने प्रस्ताव गरेका थिए । काम गर्ने अमेरिकनको आर्थिक स्थायीत्वका लागि रोम्नीको कार्यालयले रुपरेखा तयार गरेको हो ।
अमेरिकी संसदले सन् २००१ र सन् २००८ को आर्थिक मन्दीका बेलामा पनि यस्तै व्यवस्था गरेको रोम्नीले जनाएका छन् । त्यसका अतिरिक्त रोम्नीले प्रभावित साना विजनेशहरुलाई सहयोग उपलब्ध गराउने पनि प्रस्ताव तयार पारेका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुसका आर्थिक सल्लाहकार ग्रेक म्यानक्वुले रोम्नीको रुपरेखाको स्वागत गरेका छन् । उनले आफू भएको भए हरेक अमेरिकनलाई तुरुन्तै एकएकहजार अमेरिकी डलर सहयोग गरिसक्ने बताएका छन् ।
यसरी हरेक अमेरिकनलाई एकएकहजार डलर दिंदा कुल रकम ३५० बिलियन हुने पूर्व राष्ट्रपति बराक ओबामाका सल्लाहकार ज्यासन फुर्मानले बताएका छन् ।