आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा छैन : युनिसेफ


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

राष्ट्रसंघीय बालकोष युनिसेफले आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा नभएको जनाएको छ । युनिसेफका अनुसार संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा छ । ‘नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले हात धुने सुविधा छैन’ युनिसेफले भनेको छ ।

कोरोना भाइरस (कोभिड -१९) को रोकथामका लागि साबुन पानीले हात धुनु महत्वपूर्ण भन्दै युनिसेफले आफू र आफ्ना बालबालिकालाई जोगाउन नियमित रुपमा हात धुने बानी बसाल्न सुझाव दिएको छ ।

अरु व्यक्तिले जस्तै बालबालिकालाई पनि बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने र पखाल्ने गर्न युनिसेफको सुझाव छ ।

युनिसेफका अनुसार विशेषगरी खाना खानु भन्दा अगाडि, सिंगान पुछेपछि, खोक्नु र हाच्छ्युँ गरिसकेपछि र शौचालय गैसकेपछि राम्ररी हात धुन सके बालबालिकालाई भाइरसबाट जोगाउन सकिन्छ ।

आफ्ना बालबालिकामा ‘फ्लू’जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य सङ्क्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा लैजान पनि उसले सुझाव दिएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com