शुक्रबारदेखि अमेरिका लगायत विश्वभरबाट नेपाल जानमा यात्रा प्रतिबन्ध


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

नेपाल सरकारले मार्च २० शुक्रबारदेखि युरोप, पश्चिम एसिया, गल्फ मुलुकहरु, टर्की, मलेसिया, साउथ कोरिया र जापानबाट नेपाल जाने तथा ती मुलुकहुँदै नेपाल जाने सबै यात्रुहरुलाई यात्रा प्रतिबन्ध लगाएको छ । यस्तो प्रतिबन्ध शुक्रबार रातीदेखि अप्रिल १२ सम्मका लागि लगाइएको हो ।

अमेरिकाबाट नेपाल जाने अधिकांश यात्रुहरु युएई, कतार र चीनहुँदै जाने भएकाले अमेरिकाबाट जाने नेपाली र गैर नेपाली सबैलाई शुक्रबारदेखि नेपाल जानमा प्रतिबन्ध लागेको छ । भारतले यसअगाडि नै यात्रा प्रतिबन्ध लगाइसकेकाले भारतका विमानस्थलमा जानसमेत प्रतिबन्ध लागेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले खसोखासका लागि लोक तिवारीसँग कुराकानी गर्दै भन्नुभयो – ‘अमेरिकाबाट जाने नेपाली, अमेरिकी वा अन्य मुलुकका व्यक्ति पनि तोकिएका मुलुकको ट्रान्जिट हुँदै नेपाल जान पाउनेछैनन् ।’

झट्ट हेर्दा यो प्रतिबन्ध केही युरोप र एसियाका केही मुलुकबाट जानेलाईमात्र देखिएपनि अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका मुलुकबाट ती देशमा ट्रान्जिट भएर जानुपर्ने भएकाले अघोषित रुपमा यो यात्रा प्रतिबन्ध सबैमाथि लागेको छ । अर्थात् शुक्रबारदेखि विश्वका कुनै पनि मुलुकबाट नेपालमा जानमा लगभग प्रतिबन्ध लागेको छ ।

कुनै यात्रुले नेपालको सरकारको ट्राभल एडभाइजरीको समयमा उडान स्थगन गरेको अवस्थामा वा एयरलाइन्सले आफै उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न सबै बायुसेवा कम्पनीलाई निर्देशन दिने निर्णय समेत नेपाल सरकारले गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com