कोरोना : विश्वभर ८५ करोड विद्यार्थीको पढाइ प्रभावित, १०२ मुलुकमा विद्यालय बन्द
प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार
विश्वको विद्यार्थीमध्ये झण्डै आधा संख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् ।
विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (यूनेस्को)ले जनाएको छ । नेपालमा पनि आजबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायतका परीक्षा तत्कालका लागि स्थगित गर्ने सरकारले निर्णय लिएको छ ।
४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी तयारी गरेर बसेका थिए । यूनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ । यूनेस्कोका अनुसार विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् ।
यसमध्ये १०२ मुलुकमा विद्यालय पूर्णतया बन्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन् । यूनेस्कोका अनुसार आगामी केही दिनमा थप देशले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण सङ्क्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ ।