हरेकलाई १५ सयडलर र काम गुमाएकालाई साताको ६ सय डलर दिने विलको तयारीमा डेमोक्र्याट्स


प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार

अमेरिकी सिनेटमा रिपब्लिकनहरुले हरेक करदातालाई १२ सय डलर दिने राहत प्याकेज सहितको बिल ल्याइरहँदा डेमोक्र्याटहरुले हाउसमा वेरोजगारदेखि सेवानिबृत्तसम्म हरेकलाई १५ सय डलरदिने प्याकेजसहितको बिल ल्याउने तयारी गरेका छन् । यो प्याकेज काम गुमाएका, बेतलवी विदामा घरमा बसेका र काम गर्न नसकेका सेल्फ इम्प्लोयडहरुलाई हरेक साता ६ सय डलर दिने प्रस्ताव समेत समावेश गरिएको छ ।

डेमोक्र्याट्सहरुले ल्याउन लागेको बिलमा राज्य र स्थानीय स्तरका बोण्डहरु किन्न फेडरल रिजर्भलाई स्वीकृति प्रदान गर्ने विषय पनि समावेश गरिएको छ । त्यस्तै स्कुल र विश्वविद्यालयहरुलाई ६० बिलियन डलर सहायताप्रदान गर्ने तथा विद्यार्थीको ऋणमा समेत राहत प्रदान गर्ने विषयमा बिलमा रहेको छ ।

अमेरिकी हाउस स्पीकर न्यान्सी पेलोसीले यो राहत प्याकेजसहितको बिल सार्वजनिक गर्ने जनाइएको छ । अहिले तत्कालै हाउसका डेमोक्र्याटहरु बिलमा मतदानका लागि क्यापिटल हिल फर्कने सम्भावना नरहेकाले यो बिललाई सिनेटमा पहिले नै रिपब्लिकनहरुले ल्याएको बिलमा डेमोक्र्याटहरुले थप्न चाहेका विषयहरुको रुपमा लिइएको छ ।

पेलोसीले सार्वजनिक गर्ने यो बिलमा साढे २ ट्रिलियन डलरको राहत समावेश गरिएको छ । सिनेटमा पेश गरिएको बिलमा अहिलेसम्म सहमति कायम हुन नसकेका कारण पारित हुन सकेको छैन । दुईदलीय सहमतिका लागि प्रयासहरु भइरहँदा बिलमा दुईपटक मतदान भइसकेको छ भने दुईपटक नै बिल पारित हुन सकेको छैन । बिल पारित हुनका लागि कम्तीमा पनि ६० भोटको आवश्यकता छ ।

रिपब्लिकनले ल्याएको राहतमा के छ ?

कोराना भाइरसका कारण उत्पन्न आर्थिक समस्यासँग जुध्न अमेरिकामा जनही १२ सय डलर दिने प्रस्तावसहित बिल सिनेटमा पेश गरिएपछि यसबारे चर्चा परिचर्चा सुरु भएको छ । खासगरी यो रकम कुन इमिग्रेशन स्टाटस भएकाले पाउलान् भन्ने जिज्ञासा देखिएको छ । सिनेटका बहुमतप्राप्त दलका नेता मिच म्याक्कोनेलले कोरोना भाइरसको संक्रमणबिरुद्ध लड्न उक्त आर्थिक प्रस्ताव पेश गरेका हुन् ।

उक्त बिलमा निश्चित भन्दा कम आम्दानी भएकाहरुलाई जनही १२ सय अमेरिकी डलर दिने प्रस्ताव समेटिएको छ । यो रकम अमेरिकाका करदाताहरुले प्राप्त गर्ने भनिएको छ । बिलमा कुनै अध्यागमन स्टाटसको बारेमा उल्लेख गरिएको छैन । यसर्थ यो रकम अमेरिकामा कर फाइल गर्ने जुनसुकै स्टाटसको व्यक्तिले प्राप्त गर्ने देखिएको छ ।

बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ । यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी बार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन् ।

बिलको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउँदै लगिनेछ । ९९ हजारसम्म आम्दानी हुनेलेमात्र रकम प्राप्त गर्नेछन् जु अनुशार कसैको ८० हजार आम्दानी छ भने उसले ९५० प्राप्त गर्नेछ भने ९० हजार आम्दानी हुनेले ४५० प्राप्त गर्नेछ ।

त्यस्तै विवाहित जोडीको सन्दर्भमा १ लाख ५० हजार भन्दा धेरै बार्षिक आम्दानी हुनेले हरेक १ सय डलरमा ५ डलर घटाउँदै हिसाब गरेर रकम दिइनेछ । अर्थात् यदि कसैको १ लाख ६० हजार बार्षिक आम्दानी छ भने उनीहरुले १९ सय डलर पाउनेछन् । अधिकतम १ लाख ९८ हजार आम्दानी हुने जोडीलेमात्र रकम पाउनेछन् ।

परिवारका अन्य सदस्यको सन्दर्भमा हरेक बच्चाका लागि ५ सय डलर दिइनेछ । अर्थात् १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिका २ बच्चा छन् भने यो परिवारले कुल ३४ सय डलर प्राप्त गर्नेछ ।

कम करको उत्तरदायीत्व भएका वा नभएकाहरु तर सामाजिक सुरक्षा निवृत्तिभरण आम्दानी, भेट्रानलाई दिइने पेन्सन वा क्षतिपूर्ति वापत कम्तीमा २५ सय योग्य आम्दानी भएकाहरुले एकजनाले ६ सय र जोडीले १२ सय अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यदि तपाई अमेरिकाको करदाता हुनुहुन्न भने तपाईले यो रकम प्राप्त गर्न सक्नुहुनेछैन ।

अमेरिकामा यसरी चेक पठाउने गरिएको यो नै पहिलोपटक भने होइन । सन् २००८ को आर्थिक मन्दीका बेलामा अमेरिकी सरकारले हरेक बयस्कलाई ३ सय देखि ६ सय डलरसम्मको चेक पठाएको थियो । बालबालिकालाई ३ सय डलरको चेक पठाइएको थियो । त्यस्तै सन् २००१ मा पनि अधिकांश अमेरिकनहरुले ३ सय डलरको चेक प्राप्त गरेका थिए ।

गत आर्थिक मन्दीको बेलामा अमेरिकामा ट्याक्स फाइल गरेका र मिलेनियरबाहेकका प्राय सबैलाई त्यतो चेक पठाइएको थियो । सोसल सेक्युरिटी भत्ता पाइरहेकाहरुले समेत त्यस्तो चेक प्राप्त गरेका थिए । यसपटक पनि सोही विधि अपनाउन खोजिएको छ ।

विगतमा उक्त रकम हुलाकबाट वा बैंक एकाउन्टमा सिधै पठाइएको थियो । रकम २ सातामा पठाउने ह्वाइट हाउसको प्रस्ताव रहेपनि त्योभन्दा लामो समय लाग्नसक्ने जनाइएको छ । सन् २००८ मा रकम पठाउन झण्डै २ महिनाको समय लागेको थियो ।

आइआरएससँग धेरैजनाको डाइरेक्ट डिपोजिट विवरण भएकाले त्यही एकाउन्टमार्फत पठाउन सकिने जनाइएको छ । गतबर्षको ट्याक्स फाइलमा झण्डै ९० प्रतिशतले डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्टहरु दिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com