वुहानका बासिन्दालाई ८ अप्रिलदेखि अन्यत्र जान खुला गर्ने तयारी
प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार
कोरोना भाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबेई प्रान्तको राजधानी वुहानका बासिन्दालाई आगामी ८ अप्रिलदेखि अन्यत्र आउजाउ गर्न खुला गरिने भएको छ । भाइरसको संक्रमण फैलन नदिन वुहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो ।
वुहानबाट बाहिर जान चाहने व्यक्तिले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर भने देखाउनुपर्नेछ ।
प्रान्तीय कोभिड–१९ नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा वुहानबाहिरका स्वस्थ व्यक्तिमा कोरोना फैलिन नपाओस् भन्नका लागि निकै कडा नियम र सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको उल्लेख छ ।
हुबे प्रान्तका अरू क्षेत्रमा बुधबारदेखि नै लागू हुने गरी यातायात खुला गरिएको छ । हुबेईमा अलपत्र परेका अन्यत्रका कामदारलाई हुबेईबाहिर उनीहरूका कार्यस्थलमा सोझै पठाइने व्यवस्था मिलाइएको छ । हुबेईमा अर्को सूचना जारी नहुँदासम्म स्कुलहरू भने बन्द हुनेछन् ।
गत जनवरी २३ मा वुहान भित्रिने र बाहिरिने सवारीसाधनमाथि रोक लगाइएको थियो । साथै सहरभित्र सार्वजनिक यातायात बन्द गर्नुका साथै वुहानबाहिरका उडान र रेलसेवा रोकिएको थियो । यही किसिमका उपायहरू हुबेई प्रान्तका अरू क्षेत्रमा पनि लागू गरिएको थियो ।
विगत पाँच दिनसम्म लगातार कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको वुहानमा सोमबार भने एक व्यक्तिमा कोरोना देखिएको थियो । पूरै हुबेई प्रान्तमा सोमबार एक व्यक्तिमा मात्र कोरोनाको संक्रमण देखिएको थियो ।