अमेरिका कोरोना भाइरसको नयाँ इपीसेन्टर बन्ने सम्भावना : डब्लुएचओ प्रवक्ता


प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार

अमेरिकामा कोरोना भाइरसका संक्रमित बिरामीहरु बढ्दै गर्दा विश्व स्वास्थ्य संगठनका प्रवक्ताले अमेरिका कोरोना भाइरसको नयाँ इपीसेन्टर बन्ने सम्भावना भएको बताएकी छन् । विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिसले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् ।

पत्रकारहरुले युरोपलाई उछिनेर अमेरिका कोरोना भाइरसको नयाँ इपीसेन्टर बन्न लागेका देख्नुभएको छ ? भनेर सोधेका थिए । जवाफमा उनले अमेरिकाका कोरोना भाइरसका संक्रमित बढिरहेको र कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्ने सम्भावना रहेको बताएकी थिइन् ।

ह्यारिसले आजैमात्र युरोप र अमेरिकामा कोरोना संक्रमणका धेरै माममलाहरु भेटिएको बताएकी थिइन् । अमेरिका र खासगरी न्युयोर्कमा कोरोना भाइरस संक्रमित बिरामी बढ्ने दर उच्च रहेको छ ।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले न्युयोर्कमा ४ हजार भेन्टिलेटर पठाउने बताएका छन् । आज २ हजार भेन्टिलेटर पठाइएको र २ हजार भोलि पठाउने उनीहरुले बताएका छन् ।

अमेरिकाभर २० हजार भेन्टिलेटरहरु स्टकमा रहेको र सबैभन्दा प्रभावित क्षेत्रमा पठाइने माइक पेन्सले बताएका छन् । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्युयोर्कमा मात्र ३० हजार भेन्टिलेटर चाहिने बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com