भाइरसको संक्रमणपछि भारतका जेलमा हिंसा !


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

पश्चिम बंगालमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि विभिन्न जिल्लाका कारागारमा रहेका कैदीहरू त्रासमा रहेका छन् ।

३१ मार्चसम्म भारतका सबै अदालत बन्द छन्, यसकारण उनीहरूले गरेको अपिल सुनुवाइ हुन सकेको छैन र सरकारले कैदीका आफन्तसँग हुने साप्ताहिक कुराकानीमा पनि रोक लगाएको छ ।

त्रास र निराशाबीच बंगालको दमदम सेन्ट्रल जेलमा रहेका कैदीबन्दीहरूले शनिबार र आइतबार लगातार हिंसा र आगजनी गरेका छन् । विचाराधीन कैदीहरूले जेलका कर्मचारीलाई पनि कुटपिट तथा ढुंगामुढा गरेका छन् । उनीहरूले रिहाइको माग गर्दै विरोध गरेका थिए । आइतबार कैदीहरूले महिला वार्डमा पनि आक्रमण गरेका थिए। कैदीहरूको अर्को समूहले सुरक्षा कर्मचारीलाई आक्रमण गरे र जेलभित्र आगो लगाइदिए।

यस्तै प्रेसिडेन्सी जेलमा रहेका कैदीले पनि शनिबार राति कारागारको भान्साघरमा तोडफोड गरेका छन् । सरकारले कारागारमा भएको हिंसाको अनुसन्धान गर्न गुप्तचर विभागलाई जिम्मा दिएको छ ।

कारागारमा भएको हिंसामा चारजना कैदीको मृत्यु भए पनि प्रहरीले अहिलेसम्म पुष्टि गरेको छैन । जेलमन्त्री उज्ज्वल विश्वासले हिंसामा केही कैदीको मृत्यु भएको छ र आफूहरू प्रहरीको रिपोर्ट पर्खेर बसेको बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com