काेराेनाकाे अर्को ‘इपिसेन्टर’अमेरिका बन्न सक्छ : डब्ल्युएचओ


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

विश्व स्वास्थ्य संगठनले मंगलबार अमेरिका कोरोना भाइरस महामारीको अर्को केन्द्रबिन्दु बन्न सक्ने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका अर्को महिनादेखि खुल्न सक्ने बताएपछि संगठनले यस्तो चेतावनी दिएको हो ।

ट्रम्पले आफ्ना निर्णयहरू सबै वास्तविक तथ्यमा आधारित हुने र इस्टरसम्म अमेरिकीहरू काममा फर्किनेमा आशावादी रहेको बताएका थिए । उनले कुनै पनि निर्णय अमेरिकीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर गरिने पनि बताएका थिए ।

ट्रम्पको भनाइपछि न्युयोर्कका गभर्नर एन्ड्रयु कोमोले कोभिड–१९ तीव्र गतिमा फैलिइरहेको भन्दै औषधोपचारका सामग्री छिटोभन्दा छिटो उपलब्ध गराउन आग्रह गरेका छन् । उनले न्युयोर्कमा भाइरस बुलेट ट्रेनभन्दा पनि तीव्र गतिमा फैलिइरहेको बताए । उनले भनेका छन्, ‘हरेक तीन दिनमा नयाँ संक्रमितको संख्या दोब्बर भइरहेको छ, संक्रमणको दरले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्छ ।’

उनले संक्रमण सोचेभन्दा छिटो फैलिइरहेको बताए । संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको गुनासो पनि उनले गरेका छन् ।

उनले न्युयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल सात हजार रहेको बताए । न्युयोर्कमा कोरोना भाइरसको संक्रमण २५ हजारमा देखिएको छ भने दुई सय १० को मृत्यु भइसकेको छ । अमेरिकाभर ५४ हजार आठ सय ६७ मानिस संक्रमित भएका छन् भने सात सय ८२ को मृत्यु भइसकेको छ । न्युयोर्क अमेरिकामा भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com