पेन्सिलभेनियामा ग्रोसरी स्टोरमा आशयपूर्ण खोक्ने महिला पक्राउ, ३५ हजारको सामान फ्याकियो
प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार
अमेरिकाको पेन्सिलभेनियामा आशयपूर्ण तरिकाले एक महिलाले ग्रोसरी स्टोरभित्र गएर खोकेपछि कोरोना भाइरसको त्रासका कारण उक्त स्टोरमा रहेको ३५ हजार डलर मूल्य बराबरका खानेकुराहरु फ्याकिएको छ । खोक्नुलाई कोरोना भाइरस फैलिनुको मुख्य तरिकाका रुपमा लिइएको छ । आयशपूर्ण तरिकाले खोक्ने ति महिलालाई अपराधको मुद्दा लगाइने भएको छ ।
ती महिला ह्यानभर टाउनसिपमा रहेको ग्रेटिज सुपरमार्केटमा प्रवेश गरेर प्रोड्युस, बेकरी आइटम, मासु र अन्य खाद्यपदार्थहरुको रहेको स्थानतिर फर्केर बारम्बार खोकेकी थिइन् । कर्मचारीहरुले ती महिलालाई तुरुन्तै स्टोरबाट बाहिर निकालेका थिए । त्यसपछि प्रहरीलाई फोन गरिएको थियो । त्यसको केही घण्टामा प्रहरीले ती महिलालाई पक्राउ गरेर हिराशतमा राखेको छ ।
ती महिलाले आशयपूर्ण तरिकाले खाद्यपदार्थलाई संक्रमित बनाएको र ती महिलाबिरुद्ध अपराधको मुद्दा दायर गरिने ह्यानओभर टाउनसिप प्रहरीले बताएको छ । ती महिलामा कोरोना संक्रमण भए नभएको बारे स्पष्ट छैन तर प्रहरीले यसबारे पत्ता लगाउने बताएको छ ।
पेन्सिलभेनियामा अहिलेसम्म ११२७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच आशयपूर्ण तरिकाले कोरोना संक्रमण फैलाउनेलाई आतंकबादको मुद्दा चलाउन सकिने अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । कार्यवाहक महान्यायाधिवक्ता जेफ्री रोसेनले संघीय कानुन कार्यान्वयन इकाइहरुलाई पठाएको एउटा मेमोमा जानाजान कोरोना संक्रमण फैलाउने कार्यलाई आंतकबाद सम्बन्धित कार्यको रुपमा हेरिने उल्लेख गरेका छन् ।
अमेरिकनबिरुद्ध धम्की र कोभिड १९ लाई अमेरिकनबिरुद्धको हतियारको रुपमा प्रयोग गर्न खोज्ने कार्य सह्य नहुने उनले बताएका छन् । मेमोले संघीय सरकारले लिन चाहेको आक्रमक कदममा जोड दिएको छ । उनले भनेका छन् अमेरिकाकीहरुको संरक्षणका लागि हामीले सकेजति राम्रो गर्नुपर्छ ।
त्यस्तै कार्यवाहक महान्यायाधिवक्ताले कोरोना भाइरसको नाममा विभिन्न ठगीहरु भइरहेको समेत स्पष्ट पारेका छन् । डेलिभरी गर्ने कुनै आशय विना नै मास्कहरु उपलब्ध गराउने भन्दै फोनकल गर्ने र रकम लिएपछि मास्कहरु डेलिभरी नगर्ने ठगहरुको बिगबिगी बढेको उनले बताएका छन् ।
त्यस्तै कोरोना भाइरसबारेका नक्कली वेवसाइट र एप्लीकेशनहरु समेत रहेको उनले बताएका छन् । गत साता महान्यायाधिवक्ता विलियम बारले संघीय अभियोजनकर्ताहरुलाई कोरोनाको महामारीका बेलामा हुने ठगीको अनुसन्धानका लागि प्राथमिकता दिन निर्देशन दिए लगत्तै यो नयाँ मेमो आएको हो ।
अमेरिकामा बिहिबार विहानसम्म कोरोना संक्रमितको संख्या ६८ हजार नाघिसकेको छ भने मृतकको संख्या पनि एकहजार नाघेको छ । न्युयोर्कमामात्र कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ ।