चीनमा कोरोना भाइरस भित्रिन नदिन शुक्रबार रातीदेखि विदेशीहरुलाई प्रवेशमा रोक


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

चीनको युहानबाट सुरु भएको कोरोना भाइरस विश्वब्यापी फैलिएपछि चीनमा कोरोना भाइरस भित्रिन नदिन चीनले शुक्रबार रातीदेखि प्राय सबै विदेशीहरुलाई चीन प्रवेशमा रोक लगाएको छ । कुटनीति भिसा, सर्भिस भिसा र सी भिसाबाहेक सबै भिसाहरु अस्थायी रुपमा खारेज गरिने चीनले वक्तब्यमार्फत जनाएको छ ।

मार्च २७ को मध्यरातदेखि लागु हुनेगरी भिसावाहक र रेसिडेन्ट पर्मिट हुनेहरुलाई समेत यस्तो प्रतिबन्ध लगाइएको हो । तर यो प्रतिबन्ध कहिलेसम्म लागु हुने भन्नेबारे केही बताइएको छैन । चीन प्रवेश गर्न चाहनेहरुले नयाँ भिसाको आवेदन दिनुपर्ने जनाइएको छ ।

चीनको विदेशमन्त्रालयबाट जारी सुचना

चीनमा ५ सय भन्दा धेरै बाहिरबाट संक्रमित भएर आएकाहरु भेटिएपछि चीनले यस्तो निर्णय गरेको हो । सोमबार बेइजिंगले विदेशबाट आउने सबैको कोरोना परीक्षण गरिने र क्वारेन्टाइनमा राखिने घोषणा गरेको थियो ।

पछिल्लो हप्तामा चीनमा आन्तरिक रुपमा कोरोना संक्रमण दर निकै कम रहेको छ । यद्यपी कोरोनाको इपीसेन्टर युहान भने अहिलेसम्म पनि लकडाउन नै रहेको छ । चीनमा बाहिरबाट आउने कोरोना संक्रमितका कारण नयाँ महामारी फैलिनसक्ने भन्दै विदेशीहरुलाई प्रतिबन्ध लगाइएको हो ।

चीनमा झण्डै ९ लाख विदेशी नागरिकहरु बसोबास गर्दै आएका छन् । जसमध्ये सबैभन्दा धेरै सांघाईमा बसोबास गर्दै आएका छन् । पछिल्ला बर्षहरुमा चीनले विदेशीहरुलाई पनि पीआर आवेदनका लागि केही सहज बनाउँदै गएको छ । सन् २०१० सम्म भने चीनको नागरिकता लिने विदेशीको संख्या झण्डै १५ सयमात्र रहेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com