पोखरामा स्वाब परिक्षण थालियो !


प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार

नोवेल कोरोना भाइरसको जाँच गर्ने मेसिन (पिसिआर)को पोखरामा सफल परीक्षण भएको छ । हेलिकप्टरबाट बिहान मात्रै पोखरा ल्याइएको मेसिनले ३ जना बिरामीका स्वाब परिक्षण गरेको छ ।
परीक्षणको रिपोर्ट भने बुधबार मात्रै सार्वजनिक गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए । ‘अहिले ३ जना बिरामीको स्वाव टेष्ट हुँदै छ,’ उनले भने, ‘रिपोर्ट विभागमा पठाएर मात्रै सार्वजनिक गछौं ।’

मंगलबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेलिकप्टर मार्फत मेसिन झरिसकेपछि मेसिन कहाँ राख्ने भनेर विवाद समेत भएको थियो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, अर्थमन्त्री किरण गुरुङसमेतको संलग्नतामा मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै राख्ने सहमति भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यावका एक कर्मचारीले विज्ञहरुको टोली बिरामी भई हाले कसरी नियमित परिक्षण गर्ने भनेर विकल्प पनि तयार पार्न लागि परेको बताए । गण्डकी प्रदेश सरकारले साढे ६ करोड रुपैयाँको राहत पनि स्थानीय तहलाई दिएको छ ।

यो रकम दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको लागि खर्चिन प्रदेश सरकारले सबै स्थानीय तहलाई निर्देशन दिएको छ । कोरोना विरुद्ध सचेतना फैलाउन प्रदेश सरकार आफ्नो क्षमताले भ्याएसम्म कुनै कसर बाँकी नराखी लागि परेको बताएका छन् ।

दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको लागि पोखरा महानगरपालिकाले पनि राहत प्याकेज ल्याएको छ । २ करोड रुपैयाँ महानगर र बाँकी ४८ लाख कर्मचारीको तलबबाट भुक्तान हुने गरि महानगरले २ करोड ४८ लाख बराबरको राहत प्याकेज लिएर आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com