भारतमा ९३ वर्षिया पुरुष र ८८ वर्षिया महिलाले जीते कोरोना भाइरस 


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षिया एक पुरुष र उनकी ८८ वर्षीया श्रीमती कोरोना मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

दुबै जनामा करिब एक महिना अघि संक्रमणको पुष्टि भएको थियो । अस्पताल अधिकारीले दुबै जनालाई अन्तिम परीक्षण गरी घर पठाइने तयारी गरिएको जनाएका छन् । दक्षिणी भारतको केरला राज्यका दम्पत्ती आफ्नो छोरी र ज्वाईको सम्पर्कमा आउँदा कोभिड–१९ बाट संक्रमित भएका थिए । दम्पत्तीकी छोरी र ज्वाई इटालीबाट फर्केका थिए ।

बीबीसीका अनुसार संक्रमित पुरुष उच्च रक्तचाप र मधुमेहका बिरामी समेत थिए । विश्वब्यापी रुपमा उच्च रक्तचाप र मधुमेहका बिरामी कोभिड–१९ को संक्रमित भए मृत्युको जोखिम उच्च रहने अनुमान गरिएको छ । उनलाई २४ घण्टासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

संक्रमित दुबैजनालाई केरलको कोट्टायम मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सक डा. आरपी रेञ्जिनले तीन साता अघि भर्ना गरिँदा दुबैजनाको स्वास्थ्य अवस्था जटिल र रिसाहा स्वभावको रहेको प्रतिक्रिया दिए ।

आइसीयूमा दुबैजनालाई अलगअलग भर्ना गरिएपछि काँचले छुट्याइएको एकै कोठामा दुबैजनाले एक अर्कोलाई हेर्न सक्ने गरी राखिएको थियो । एकै कोठामा राख्दा दुबै जना खुशी देखिएको डा।रेञ्जिनले बताए ।

छोरी र ज्वाई दुबैजना इटालीबाट भारत फर्किदा विमानस्थलमा स्क्रिनिङ्ग छलेर घर पुगेका थिए । स्वास्थ्य अधिकारीले संक्रमित रहेको पुष्टि गर्दा परिवारका कतिपय सदस्यलाई संक्रमित बनाइसकेका थिए ।

भारतमा बिहीबार बिहानसम्म संक्रमितको संख्या करिब २ हजार मृतकको संख्या ५८ जनाको पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com