न्युयोर्कका नेपालीमाझ कोरोनाले बढायो भौतिक दुरी तर झन् जोडियो मनको दुरी
प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार
– गीता पन्थ
न्युयोर्क र खासगरी क्वीन्समा रहने हामी नेपाली डर ,त्रास भित्रै श्वास प्रस्वासको नियमित प्रक्रियामा छौँ ,न्युजर्सी पनि टाढा छैन । र लङ आइल्याण्ड पनि। दिनहुँ नेपालबाट फोन आइरहन्छ । अलि टाढा बस्ने साथीहरू ,आफन्तजनहरूले प्रश्न गरिरहनुहुन्छ । कस्तो छ ? के भैरहेको छ ? सुरक्षित रहनु है भनेर। एक किसिमको अपनत्व भेट्छु म ती सोधाईहरूमा।माया गरेरै ,पिर परेरै सोधिएका हुन् ती प्रश्नहरू। जवाफ फर्काउनु पनि एक किसिमको आनन्द हो, हामी अझैसम्म ठिक छौँ है को प्रतीक हो त्यो उत्तर।
अहिले कोरोना भाइरसको महामारीका कारण साथीहरु र आफन्तबाट अलग अलग बस्ने बाध्यता श्रृजना भएको छ । न्युयोर्कमा रहेका नेपालीहरु यो बाध्यताबाट अलग हुने कुरा भएन । न्युयोर्कका नेपालीहरुमाझ कोरोनाले भौतिक दुरी त बढाएको छ र तर मनको सम्बन्धको दुरी भने घटाएको छ । आआफ्नै क्षमता ,बुद्धि बिबेक प्रयोग गरेर नेपाली समुदायले खुला मन र मस्तिष्कले एकअर्कालाई सहयोग गरिरहेका छन् । अहिले यहाँ न काङ्ग्रेस छ न कम्युनिस्ट । न बाहुन छन् न जनजाती । न पहाडे छ न मधेसी । न पूर्व न पश्चिम । न ठुलो न सानो । छन् त केवल नेपाली छन् ।
अहिले यहाँ भएका सबै संघ सस्था आफ्नो व्यक्तिवादी सोचाइलाई पर हुत्त्याएर सामाजिक काममा जोतिएका छन् । कुनै राजनैतिक छाता नओढेर समस्त नेपाली समुदायको निम्ति एकजुट भएर एकाअर्कालाई परेको अफ्ट्यारोमा सघाइरहेका छन् । सोधपुछ गरिरहेछन् । घर घरमा पुगेर,फोन सम्पर्क गरेर यो बिकराल र भयावह स्थितिमा दुखेको ,चहर्याएको आलो घाउमा मलम्पट्टी गरिरहेछन् । अहँ पर्खेका छैनन् ,सरकारी सुबिधा ।
उहीँ भाइचारा , उही संस्कार, उहीँ मानवीयता । आहा, सय थुङा फूलका हामी एउटै माला। माटोबाट टाढा हुदैमा कहाँ मर्नु हाम्रो आफ्नो नेपाली पन ,नेपाली मन ।
अहिले यो बिपतको समयमा सबै सबैले आ आफ्नो क्षेत्रमा आफुले सकेको आफ्नो काम गरेर समुदायलाई आशा ,भरोसा ,बिश्वास बाडिरहेका छन् । संचारकर्मीहरुले आफ्नो अनलाइन ,छापा ब्लग मार्फत सचेतना दिरहेका छन् । सामाजिक क्षेत्रमा काम गर्नेहरूले कसलाई के अफ्ठ्यारो छ ,के सहयोग को के खाचो छ, त्यस्को लागी जनसमुदाय लाई परिचालन गरिरहेका छन् ।
मलाई लाग्छ यसरी आफ्नो समुदायको निम्ति काम गर्ने शायद नेपाली समुदाय नै पहिलो होला । खान नपाएर, औषधि नपाएर कोहि अप्ठ्यारोमा नपरून् भनेर घर घरमा गएर बितरण गरेको कुराहरू निकै सुन्नमा आएका छन् ।
कोरोनाको कारणले न्युयोर्कमा एक नेपाली गुमाइसकेका छौँ हामीले । तर त्यो संगै थुप्रै संक्रमणमा परेर पनि त्यसलाई जितेर घर फर्किएकाहरूको कथा पनि छ हामीसँग । हाम्रो आत्मबल ,हाम्रो इच्छाशक्तिले पनि यो महामारी विरुद्ध लड्न सक्ने हिम्मत राख्दछ।
केहि आशा पलाएको छ, हिम्मत बढेको छ, बिरानो देशमा ,ठाँउमा । आफ्नै घर आगन जस्तो, आफ्नै माटोमा उभिएको जस्तो ,आफ्नै आफ्नैहरूको माझमा सन्तोषको सास फेरे जस्तो अनुभुति भैरहेछ । शायद मलाई जस्तै अरुअरु धेरै धेरै लाई।
धेरै धेरैले दिन र रात अनि आफ्नो ज्यानको बाजी राखेर नेपाली समुदायको निम्ति पुर्याउनु भएको अदभूत योगदानको जतिसुकै वर्णन गरेपनि सकिँदैन। लेख्दै जाँँदा यो न्युयोर्कमा बसेर साहित्यको माध्यम बाट पनि धेरै कलमजिविहरुले समुदायलाई शाब्दिक राहत दिइरहनु भएको छ ।
यो आत्मीयता ,यो सद्भाव ,यो सोंच ,यो बिचारले कहिले खुम्चने र साघुरिने काम नगरोसे । हामी नेपाली निर्धक्क बाँच्न पाइरहूँ । एक अर्काको पुरक बनिरहौं । हामीलाई सोधिरहने सबै सबैलाई एकमुष्ट धन्यवाद । अनि आराम छौँ भन्ने उत्तर पनि हो यो।ज्यान रहे जगत रहन्छ । घरमै बसौं ,सुरक्षित बनौं । जय नेपाली समुदाय ।