उपत्यकामा आइतबार लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जना प्रहरी नियन्त्रणमा


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जनालाई काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको  छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार बिहान ६ बजेदेखि ८ बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । अत्यावश्यकबाहेक सडकमा निस्केका उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको  छ ।

यसरी नियन्त्रणमा लिएकाहरूलाई सार्वजनिक स्थानमा केही घन्टा राखेर फेरि यसरी नहिँड्ने सर्तमा छोडिने प्रहरीले जनाएको छ ।

नियन्त्रणमा  लिइएकामा एक हजार ६४ जना  पुरुष र दुई सय ८१ जना महिला छन् ।त्यस्तै,  लकडाउनको  समयमा अत्यावश्यक सेवाबाहेक र  विनापास  चलेका एक सय ७२ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयले लकडाउन कार्यान्वयनका लागि काठमाडौं, ललितपुर र भक्तपुर तीनवटैे प्रहरी परिसरलाई कडा रूपमा प्रस्तुत हुन निर्देश दिएको जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com