कोरोनाबिरुद्ध अग्रमोर्चामा खटिरहेका ५० डाक्टरको न्युयोर्कबासीलाई ७ बुंदे सामुहिक खुल्लापत्र


प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार

न्युयोर्कका अस्पताल र स्वास्थ्यसंस्थाका इमर्जेन्सी रुपमा अग्रमोर्चामा रहेर कोभिड १९ बिरुद्ध लडिरहेका ५० जना चिकित्सकहरुले न्युयोर्कबासीलाई लेखेको खुलापत्रको मुख्य अंश हामीले खसोखासका पाठकका लागि अनुवाद गरेका छौं ।

१, यो रोग हामीले सुरुमा थाहापाएको भन्दा पनि निकै सहज तरिकाले फैलिन्छ । कोभिड १९ को संक्रमण जोसुकैमा पनि हुनसक्छ । तपाईलाई आफूमा संक्रमण भइसकेको थाहा नहुनसक्छ तरपनि तपाईले भाइरस फैलाइरहेको हुनसक्छ । संक्रमितहरु धेरैमा सामान्य लक्षणहरु देखिने वा लक्षणै नदेखिने हुन्छ ।

२, बिरामीजस्तो अनुभव गर्नुभएको छैन भनेपनि घरमै बस्नुहोस् । यदि तपाई घरबाहिर निस्कनुपर्ने भएमा आफ्नो र अरुको संरक्षण गर्नुहोला । आफू र अरुबीच कम्तीमा ६ फिटको दुरी कायम गर्नुहोला । आफ्नो अनुहार छोपेर निस्कनुहोला । सुरक्षित कागज वा कपडाले मुख छोप्न सकिन्छ । नधोएको हातले कहिलेपनि अनुहार नछुनुहोला । कम्तीमा २० सेकेण्ड बारम्बार साबुनपानीले हात धुनुहोला ।

३, कोभिड १९ को लक्षण फ्लुको जस्तो हुनसक्छ । तर लक्षणहरु फरकफरक हुनसक्छ । कोभिड १९ को संक्रमणपछि व्यक्तिले ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, स्वासफेर्न गाह्रो हुने, स्वाद र गन्धलिने क्षमतामा ह्रास आउने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता लक्षणहरुको सामना गर्नसक्छ । सबैमा एउटै लक्षण नहुनसक्छ । तर व्यक्ति केहीदिनदेखि हप्ताभित्रका पूर्णरुपमा निको हुनसक्छ ।

खसोखासलाई प्राप्त खुल्लापत्रको पूर्ण पाठ यहाँ पढ्नसक्नुहुनेछ ।

४, बिरामी भएमा आइसोलेसनमा र घरमै बस्नुहोस् । यदि कुनै लक्षण देखिएमा तुरुन्तै अरुबाट आइसोलेट गर्नुहोस् । साथीहरु र परिवारलाई संरक्षण गर्नुहोस् । आफू एक्लै बस्नुहोस् । एक्लै खानुहोस् । अलग्गै बाथरुपम प्रयोग गर्नुहोस् वा प्रयोग गर्नासाथ सफा गर्नुहोस् । फ्रिज, रिमोट लगायतका सामाग्रीहरु नछुनुहोस् । छुनैपर्ने भएमा पन्जाको प्रयोग गर्नुहोस् । खोक्दा वा हाछ्यु गर्दा कुहिनो वा कागजले अनुहार छोप्नुहोस् । त्यसपछि तत्कालै टिस्यु फ्याक्ने र हातधुने गर्नुहोस् । ६ फिटको दुरी कायम गर्न नसक्ने भएमा अनुहार छोप्नुहोस् । मेडिकल आवश्यकता नभएसम्म घरबाहिर ननिस्कनुहोस् ।

५, आफ्नो ख्याल गर्नुहोस् र डाक्टरको सम्पर्कमा रहिरहनुहोस् । कोभिड १९ को संक्रमण भएका अधिकांशमा सामान्य लक्षणमात्र देखिन्छ र उनीहरु घरमै बसेर निको हुनसक्छन् । टाइलोनोल, बु्रफेन वा ज्वरो कम गर्ने अन्य औषधीहरु लिनुहोस् । आराम गर्नुहोस् । प्रसस्त झोलकुराहरु पिउनुहोस् । उल्लेखित लक्षणहरु देखिएमा आफूलाई कोरोनाको संक्रमण भएको अनुमान गर्नुहोस् । कोरोनाको टेस्टका लागि घरबाहिर गइरहन जरुरी छैन । यसले केबल अरुलाई संक्रमणको जोखिममात्र बढाउँछ । तपाई ५० बर्ष वा त्योभन्दा माथिको हुनुहुन्छ भने वा फोक्सोको रोग, दम, मुटुको रोग, कमजोर इम्युन, डायबेटिज, कलेजोको रोग, मृगौलाको रोग जस्ता समस्या छन् भने आफ्नो डाक्टरलाई फोन गर्नुहोस् । यदि तपाईको आफ्नो डाक्टर छैन भने ३११ मा फोन गर्नुहोस् ।

६, यदि तपाईमा देखिएको लक्षण खराब हुँदै गएमा वा तीनचारदिनमा पनि कम नभएमा डाक्टरको सल्लाह लिनुहोस् । स्वास्थ्य सेवा प्रदायककोमा जानुअगाडि फोन वा टेक्स्ट गर्नुहोस् । सकभर डाक्टरलाई प्रत्यक्ष भेट्नुभन्दा टेलिमेडिसिनको प्रयोग गर्नुहोस् । यदि छाती दुख्ने, स्वासफेर्न गाह्रो हुने, अनुहार र ओंठ सुन्निने, मुर्छा पर्ने, कुरा गर्दा वा थोरै हिड्दा पनि रिंगटा लाग्ने लक्षण खराब भएमा इमर्जेन्सीमा जानुहोस् । तत्कालै सहयोग चाहिएमा ९११ मा फोन गर्नुहोस् ।

७, सेल्फ आइसोलेसन कठिन छ तर अस्थायी हो, जसका कारण अरुको जीवन बच्न सक्छ । यदि तपाईमा कोरोनाको संक्रमण थियो वा संक्रमणको आशंका थियो भने लक्षण देखिएको सातदिनपछि, विना औषधी ज्वरो नआएको तीनदिनपछि र बिरामी निको भएको अनुभवपछिमात्र घरबाहिर निस्कन सकिन्छ । याद गर्नुहोस्, यदि तपाई निको भएको अनुभव गर्नुभएको छ भने पनि सकभर घरबाहिर ननिस्कनुहोस् ।

गल्ती नगर्नुहोस् । यो रोग चुपचाप फैलिन्छ । र निर्मम तरिकाले व्यक्तिलाई मार्छ । घरमै बस्नुहोस्, हात धुनुहोस् । अरु न्युयोर्कबासीहरुलाई बचाउनुहोस् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com