हरेक करदाताले पाउने १२ सय डलरबारे आईआरएसको सुचना


प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार

अमेरिकामा कोरोनाको महामारीका कारण हरेक करदाताले पाउने १२ सय डलरको चेकबारे आईआरएसले थप प्रष्ट पारेको छ । अधिकांश करदाताले अटोमेटिक रुपमा नै रकम पाउने आईआरएसले जनाएको छ । अधिकांश सिनियर, रिटाडर्टभएकाहरु, सन् २०१८ र २०१९ मा ट्याक्स फाइल गरेकाहरु यो रकमका लागि स्वत योग्य हुनेछन् ।

को योग्य हुन्छ ?

अमेरिका निवासीहरुले १२ सय डलरको आर्थिक प्रभाव रकम प्राप्त गर्नेछन् । एउटा व्यक्ति वा घरमुलीले १२ सय डलर पाउनेछन् भने दम्पत्तिले फाइल गरेको सन्दर्भमा २४ सय डलर पाउनेछन् । तर कुनै व्यक्तिलाई ट्याक्स फाइल गर्दा अर्कैले डिपेन्डेन्ट दावी गरेको छ भने उसले त्यो रकम पाउनेछैन ।

१२ सय डलर पाउनका लागि व्यक्तिका हकमा ७५ हजारभन्दा कम आम्दानी, घरमुलीका हकमा १ लाख १२ हजार ५ सय भन्दा कम आम्दानी, दम्पत्तिका हकमा १ लाख ५० हजारभन्दा कम आम्दानी भएको र अमेरिकामा काम गर्न योग्य सोसल सेक्युरिटी नम्बर भएको हुनुपर्छ ।

यदि एकजना करदाताको आम्दानी ७५ हजारभन्दामाथि र ९९ हजारभन्दा कम छ भने आम्दानीको आधारमा प्राप्त गर्ने रकम कम हुँदै जानेछ । यदि घरमुलीको आम्दानी १ लाख १२ हजार ५ सय हजारभन्दामाथि र १ लाख ३६ हजार ५ सयभन्दा कम छ भने आम्दानीको आधारमा प्राप्त गर्ने रकम कम हुँदै जानेछ । त्यस्तै दम्पत्तिको आम्दानी १ लाख ५० हजारभन्दामाथि र १ लाख ९८ हजारभन्दा कम छ भने आम्दानीको आधारमा प्राप्त गर्ने रकम कम हुँदै जानेछ ।

रिटायर्टभएका योग्यहरु, सोसल सेक्युरिटी पाइरहेकाहरु, रेलरोड रिटायर्डहरु, अपांगता वा बरिष्ठको भत्ता लिइरहेकाहरुले ट्याक्स फाइलका लागि प्रयाप्त आम्दानी नगरेपनि यो १२ सय डलरको चेक भने पाउनेछन् ।

यदि तपाईको बच्चा छ भने तपाईले प्रतिबच्चा अतिरिक्त ५ सय डलर प्राप्त गर्नुहुनेछ ।

तपाईले कति रकम पाउनुहुनेछ अमेरिकी सरकारबाट राहतमा, ३ सेकेण्डमा चेक गर्नुहोस् यसरी

को योग्य हुँदैन ?

धेरै आम्दानी हुने करदाताहरु यो रकम प्राप्त गर्न योग्य हुनेछैनन् । खासगरी ९९ हजार भन्दा धेरै आम्दानी भएका एकलहरु, १ लाख ३६ हजार ५ सय भन्दा धेरै आम्दानी भएका घरमुलीहरु र १ लाख ९८ हजारभन्दा धेरै बार्षिक आम्दानी भएका दम्पत्तिहरु यो रकम प्राप्त गर्न योग्य हुनेछैनन् ।

यदि कोही व्यक्तिलाई अरुले ट्याक्स फाइल गर्दा डिपेन्डेन्ट दावी गरेका छन् भने उनीहरु योग्य हुँदैनन् । उदाहरणका लागि विद्यार्थीहरु र बाबुआमाको ट्याक्स फाइल गर्दा डिपेन्डेन्ट दावी गरिएका अन्य उमेर समुहका व्यक्ति यो रकमका लागि योग्य हुनेछैनन् । सोसल सेक्युरिटी नम्बर नभएकाहरु र आवासीय व्यक्तिको परिभाषाभित्र नपर्नेहरु पनि योग्य हुँदैनन् ।

यदि तपाईले सन् २०१९ मा १०४० एनआर, १०४० एनआर ईजी, १०४० पीआर वा १०४० एसएस फाइल गर्नुभएको छ भने पनि यो रकम प्राप्त गर्नका लागि योग्य हुनुहुनेछैन ।

के कुनै फर्म भर्नुपर्छ ?

सन् २०१८ वा २०१९ मा ट्याक्स फाइल गरेकाहरुले केहीपनि गर्नुपर्दैन । २०१९ मा ट्याक्स फाइल गरेकाहरुका सन्दर्भमा आईआरएसले त्यसैबाट रकमको हिसाब निकालेर खातामा पठाउनेछ । सन् २०१९ मा ट्याक्स फाइल गरिनसकेका तर सन् २०१८ मा ट्याक्स फाइल गरेकाहरुको सन्दर्भमा पनि सन् २०१८ कै ट्याक्स फाइलबाट रकमको हिसाब निकालेर खातामा पठाउनेछ ।

म अमेरिकी नागरिक होइन, के मैले १२ सय डलरको चेक पाउँछु ?

ट्याक्स फाइल गर्न नपर्नेहरुले के गर्ने ?

सामान्यतया सोसल सेक्युरिटी र रेलरोड निवृत्तिभरण पाइरहेकाहरुले ट्याक्स फाइल गर्न आवश्यक हुँदैन । उनीहरुले यो रकम प्राप्त गर्न कुनै कदम चाल्नु पर्दैन । उनीहरुले सन् २०१८ वा २०१९ मा ट्याक्स फाइल नगरेको भएतापनि आईआरएसले फर्म एसएसए १०९९ र फर्म पीआरबी १०९९ का आधारमा रकमको हिसाब गरेर पठाउनेछ ।

उनीहरुले यो रकम या त बैंक खातामा नै प्राप्त गर्नेछन् या त चेकका रुपमा पाउनेछन् । यदि रेलरोल निवृत्तिभरण पाइरहेका व्यक्तिका योग्य बच्चा भएमा अतिरिक्त ५ सय डलर प्राप्त गर्नका लागि आईआरएसमा सम्पर्क गर्नुपर्नेछ । कम आम्दानी हुने कामदारहरु, केही भेट्रानहरु, अपांगताभएकाहरु जसले ट्याक्स फाइल गर्न पर्दैन, उनीहरु पनि यो रकमका लागि योग्य हुनेछन् । आईआरएसले उनीहरुले चाल्नुपर्ने कदमका बारेमा छिट्टै निर्देशिका जारी गर्नेछ ।

यी व्यक्तिले तत्काल ट्याक्स फाइल नगरे नपाउनसक्छन् १२ सय डलरको चेक

आईआरएसको पत्रको अपेक्षा गर्नुहोस्

रकम खातामा पठाइसकेपछि आईआरएसले १५ दिनभित्र आफूसँग भएको पछिल्लो ठेगानामा पत्र पठाउनेछ । उक्त पत्रमा कसरी रकम पठाइएको छ भन्नेबारे जानकारी दिइएको हुनेछ । त्यस्तै रकम प्राप्त गर्न नसकेमा कसरी रिपोर्ट गर्ने भन्ने तरिका पनि सिकाइएको हुन्छ । यदि करदाताले आफूले प्राप्त गरेको पत्र आधिकारिक हो कि होइन भन्ने शंका लागेमा आईआरएसको वेवसाइटमा गएर हेर्न आईआरएसले सुझाव दिएको छ ।

आईआरएसले आर्थिक प्रभाव रकम प्राप्त गर्ने सन्दर्भमा ठगहरुको शिकार हुनबाट बच्न सर्वसाधारणलाई सचेत गराएको छ । आईआरएसले कहिले पनि फोन नगर्ने, टेक्स्ट नपठाउने, इमेल नगर्ने र सामाजिक सञ्जालमा सम्पर्क गरेर व्यक्तिगत र बैंक विवरण नमाग्ने आईआरएसले स्पष्ट पारेको छ । आर्थिक राहत रकम वा रिफण्ड दिने भन्दै पठाइएका इमेलका कुनै पनि लिंक क्लीक नगर्न आईआरएसले सचेत गराएको छ ।

थप जानकारीका लागि यो वेवसाइटमा जान सक्नुहुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com