इलेक्ट्रोनिक ट्याक्स फाइल गर्न आईआरएसको सुझाव, कागजी फाइल प्रकृयामा नलगिने


प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार

आज अमेरिकाको इन्टरनल रेभिन्यु सर्भिस आईआरएसले एक वक्तब्य जारी गरी सबै करदाताहरुलाई विद्युतीय रुपमा ट्याक्स फाइल गर्न सुझाव दिएको छ । सबै करदाताहरुलाई ट्याक्स फाइल गरिदिने आधिकारिक व्यक्ति, ट्याक्स सफ्टवेयर प्रदायक वा सम्भव भएसम्म आईआरएसबाट निशुल्करुपमा इलेक्ट्रिोनिक रुपमा फाइल गर्न सुझाव दिएको छ ।

कागजी रुपमा फाइल गरिएका ट्याक्स रिर्टनहरु अहिले प्रकृयामा नलगिने आईआरएसले स्पष्ट पारेको छ । पहिले नै कागजी फाइल गरेका तर आईआरएसले प्रकृयामा नलगेकाहरुलाई दोश्रोपटक ट्याक्स फाइल नगर्न सुझाव दिइएको छ । साथै आफ्नो ट्याक्स रिर्टनको अवस्थाबारे वा कोरोनाको महामारीका कारण पाउने १२ सय डलरको चेकबारे सोधपुछका लागि आईआरएसलाई पत्र नपठाउन आईआरएसले सुझाव दिएको छ ।

प्रोसेसिङ सेन्टरहरु खुलेपछि पहिले नै कागजी फाइल गरेकाहरुको ट्याक्स रिर्टन प्रकृयामा लगिने आइआरएसले जनाएको छ । यो बर्ष ९० प्रतिशतभन्दा धेरै करदाताले विद्युतीय रुपमा नै फाइल गरेको आईआरएसले जनाएको छ । कोरोनाको महामारीका कारण आईआरएसले व्यक्तिगत ट्याक्स फाइलका लागि जुलाई १५ सम्मको म्याद थपेको छ ।

सामाजिक दुरीलाई कायम राख्न पनि विद्युतीय रुपमा नै ट्याक्स फाइल गर्न आईआरएसले सुझाव दिएको छ । विद्युतीय रुपमा फाइल गर्दा ट्याक्स रिर्टन छिटो प्रकृयामा जाने तथा रिफण्ड वा पेमेन्ट पनि शीघ्र हुने आईआरएसले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण आईआरएसले फोनमार्फत प्रदान गर्ने सेवा, कागजी ट्याक्स फाइलको प्रकृया र सोधपुछको जवाफ दिने काम अत्यन्तै सिमित वा बन्द गरेको छ । सबै करदाता सहायता केन्द्रहरु पनि बन्द गरिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com