अप्रिल १५ मा करदाखिला म्याद तय गरेकालाई जुलाई १५ बनाउने अवधि केही घण्टामात्र


प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार

अप्रिल १५ मा ट्याक्स तिर्नेम्याद राखेकाहरुलाई ट्याक्स तिर्ने म्याद परिवर्तन गरेर जुलाई १५ सम्म बनाउने अवधि केही घण्टामात्र बाँकी रहेको छ । अप्रिल १५ मा ट्याक्स तिर्ने मिति तय गरेकाहरुले सोमबार मध्यरातसम्म त्यसलाई परिवर्तन गरेर जुलाई १५ सम्म बनाउन सक्नेछन् ।

अधिकांश करदाताहरुले विद्युतीय रुपमा आफ्नो खाताबाट कररकम बुझाउने अवधि अप्रिल १५ मा तय गरेका थिए । तर कोरोना भाइरसको महामारीका कारण आईआरएसले यो अवधि बढाएर जुलाई १५ सम्म बनाउन मिल्ने गराएको छ ।

यदि अप्रिल १५ मा कर रकम बुझाउने मिति तय गरेकाहरुले सोमबार मध्यरात अगाडि उक्त मिति परिवर्तन नगरे आईआरएसले उनीहरुको खाताबाट रकम लैजाने प्रयास गर्नेछ । त्यसैले म्याद सार्न चाहनेहरुले अहिले नै कदम चाल्न आईआरएसले सचेत गराएको छ ।

आईआरएसले कोरोनाको महामारीका कारण व्यक्तिगत कर फाइल गर्ने म्याद पनि बढाएर जुलाई १५ सम्म तय गरिसकेको छ । त्यसैले पहिले नै ट्याक्स फाइल गरिसकेकाहरुले पनि आईआरएसलाई कर तिर्ने म्याद पछाडि सारेर जुलाई १५ सम्म बनाउन सक्नेछन् ।

बैंकबाट कर रकम दाखिला गर्ने म्याद पछाडि सार्नका लागि दुईवटा विकल्पहरु बनाइएको छ । विद्युतीय फेडरल ट्याक्स पेमेन्ट प्रणालीको प्रयोग गरेर कर दाखिलाको म्याद पछाडि सार्न सकिनेछ । जुन निशुल्क रहेको छ ।

त्यस्तै डेबिट क्रेडिट कार्ड वा डिजिटल वालेटको प्रयोग गरेर पनि कर दाखिलाको म्याद पछाडि सार्न सकिन्छ । पहिले नै रकम दाखिला गर्ने म्याद राखिएको र अहिले रद्द गर्नुपरेमा यसबारे थप जानकारीका लागि आईआरएसको यो लिंकमा पनि हेर्न सकिनेछ । तपाईले यो लिंकमार्फत अप्रिल १५ मा दाखिला गर्न तय भएको रकम रद्द गर्न सक्नुहुनेछ ।

जुलाई १५ मा रकम तिर्नका लागि जुन १५ पछि मिति तय गर्न सकिनेछ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com