भिसा वेभर कार्यक्रमबाट अमेरिका घुम्न आएकाले फोन गरेर ३० दिन अवधि थप्नसक्ने


प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार

भिसा वेभर कार्यक्रमबाट अमेरिका घुम्न आएकाले युएससीआईएसमा फोन गरेर ३० दिन अवधि थप्नसक्ने युएससीआईएसले जनाएको छ । यो कार्यक्रम अन्तरगत अमेरिकाले विभिन्न देशका नागरिकलाई ९० दिनसम्म विनाभिसा अमेरिका भ्रमणका लागि स्वीकृति प्रदान गर्दै आएको छ ।

यसरी अमेरिका आएकाहरुले कोरोनाको महामारीका कारण तोकिएको अवधिमा फर्कन नसकेमा युएससीआईएसको फोन नम्बर ८०० ३७५ ५२८३ मा सम्पर्क गरेर आफ्नो बसाईको अवधि ३० दिन लम्बाउन सक्ने भएका छन् । पहिले नै लम्बाएकाहरुले समेत थप ३० दिन लम्बाउनका लागि युएससीआईएसमा सम्पर्क गर्न सुझाव दिइएको छ ।

यसअगाडि विमानस्थलमा रहेका डिफर्ड इन्सपेक्सन अफिसमा फोन गरेर कोरोना भाइरसका कारण फर्कन नसकेका भिसा वेभर कार्यक्रमबाट अमेरिका आएकाहरुलाई ३० दिन अवधि थप्ने व्यवस्था गरिएको थियो । अहिले उनीहरुले युएससीआईएसमा फोन गरेर दोश्रोपटक अर्को ३० दिनको अवधिसमेत थप्न पाउने भएका छन् ।

युरोपका कैयन मुलुकहरु, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकको पासपोर्ट लिएका केही गैरआवासीय नेपालीहरु भिसा वेभर कार्यक्रममार्फत अमेरिकामा रहेका छन् । उनीहरु कोरोना भाइरसका कारण तत्काल अमेरिकाबाट फर्कन नसकेको खण्डमा युएससीआईएसमा फोन गरेर निशुल्क आफ्नो बसाईको अवधि लम्बाउन सक्ने भएका छन् ।

यसैबीच युएससीआईएसले आज एक सुचना जारी गर्दै कोरोनाको महामारीका कारण तोकिएको समयभित्र फर्कन नसकेका आप्रवासी भिसामा रहेकाहरुलाई विभिन्न विकल्पहरु दिएको छ । युएससीआईएसले कोरोनाको महामारीका कारण समयमै फर्कन नसकेकाहरुलाई आफ्नो बसाईको अवधि थप्न आई ५३९ फर्म भर्न सुझाव दिएको छ । यो फर्म अनलाइनबाटै समेत भर्न सकिन्छ ।

सामान्यतया स्टाटस परिवर्तन वा बसाईको अवधि थप्नका लागि भिसाको अवधि समाप्त नहुँदै समयमै दिइएको आवेदन पेन्डिङ अवस्थामा रहँदासम्म आप्रवासीको गैरकानुनी उपस्थीति नहुने युएससीआईएसले प्रस्ट पारेको छ । कोरोना भाइरसका कारण भिसाको अवधि थप्नका लागि वा स्टाटस परिवर्तनका लागि दिइएको आवेदनमा ढिलाई भएको खण्डमा केसअनुशार माफी दिन सकिने युएससीआईएसले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com