तपाईको खातामा १२ सय डलर आएन ? यस्ता हुनसक्छन् कारण ! ढिला नगरी यसो गर्नुहोस्


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

आईआरएसले कोरोनाको महामारीका कारण पठाएको आर्थिक राहत अन्तरगतको रकम करदाताको खातामा आउन सुरु गरेको छ । तर तपाईले उक्त रकम प्राप्त गर्नुभएको छैन भने त्यसका मुख्यतया तीन कारण हुनसक्छन् ।

पहिलो कारण, तपाईको आम्दानी तोकिएको भन्दा धेरै भएका कारण उक्त रकम प्राप्त नभएको हुनसक्छ । दोश्रो कारण, तपाईले २०१८ वा २०१९ को ट्याक्स फाइल नगरेका कारण रकम प्राप्त नभएको हुनसक्छ । तेश्रो कारण, तपाईले आईआरएसलाई डाइरेक्टर डिपोजिटको लागि बैंक खाता नदिनुभएको हुनसक्छ ।

याद गर्नुहोस्, यदि तपाईले आईआरएसलाई रकम तिर्नका लागि प्रयोग भएको खाता आईआरएसको रेकर्डमा डाइरेक्ट डिपोजिटका लागि दिइएको खाताका रुपमा नहुनसक्छ । यदि त्यसो भएमा तपाईले अनलाइनमार्फत आफ्नो डाइरेक्ट डिपोजिट खाता आईआरएसलाई दिनसक्नुहुनेछ ।

त्यसका लागि आईआरएसले पेमेन्टको स्टाटस चेक गर्नका लागि  व्यवस्था गरेको नयाँ टुल ‘गेट माई पेमेन्ट’ मा क्लिक गर्नुहोला । त्यहाँ पेमेन्टको स्टाटस, राहतको रकम प्राप्त हुने मिति, सिधै बैंकमा पठाइएको हो वा हुलाकमा त्यसको विवरण हेर्न सकिनेछ । त्यहाँ आईआरएसले तपाईको रकम कुन विधिबाट कुन मितिमा पठाउने उल्लेख गरेको हुन्छ । यदि आईआरएसको रेकर्डमा तपाइका लागि डाइरेक्ट डिपोजिट गर्ने खाता छैन भने तपाईले आफ्ना खाता नम्बर दिनका लागि विकल्प देख्नुहुनेछ । त्यहाँ तपाइले आफ्नो कुल आम्दानी (१०४० फर्मको ८ बी ) र बैंक खाता नम्बर हालेर सब्मिट गर्न सक्नुहुनेछ ।

राहत रकम ट्रयाक गर्न वा खाता नम्बर दिनका लागि यहाँ क्लिक गर्नुहोला ।

यदि तपाईको आम्दानी बढी छ भने पनि तपाईलाई यो रकम प्राप्त नहुनसक्छ ।  यो राहत अन्तरगत ७५ हजारभन्दा कम आम्दानीहुनेले १२ सय डलर प्राप्त गर्छन् १ लाख ५० हजार भन्दा कम आम्दानीहुने दम्पत्तिले २४ सय डलर प्राप्त गर्छन् ।  १७ बर्षभन्दा कम उमेरका बच्चा हुनेहरुलाई थप ५ सय डलर गर्छन् । ९९ हजारभन्दा माथि आम्दानी हुने एकल र १ लाख ९८ हजारभन्दा माथि आम्दानी हुने दम्पत्तिले कुनै रकम प्राप्त गर्नेछैनन् ।

त्यस्तै तपाईले २०१८ वा २०१९ को ट्याक्स फाइल नगरेका कारण रकम प्राप्त नभएको हो भने र तपाई ट्याक्स फाइल गर्नका लागि बाध्य हुनु हुन्थेन भने तपाईले अर्को टुलको प्रयोग गरेर आईआरएसलाई त्यसबारे जानकारी दिनसक्नुहुनेछ । कोरोना भाइरसको महामारीका कारण दिने १२ सय डलरको राहत रकम ट्याक्स फाइल नगरेकाहरुलाई समेत दिलाउनका लागि आईआरएसले नयाँ टुलको व्यवस्था गरेको छ । यो टुलको प्रयोग गरेर ट्याक्स फाइल गर्नु नपर्नेहरुले आफ्नो विवरण बुझाएर १२ सय डलरको राहत प्राप्त गर्न सक्नेछन् ।

तर याद गर्नुहोस्, यदि तपाईले सन् २०१९ को ट्याक्स फाइल गरिसक्नुभएको छ भने वा तपाईको बार्षिक आम्दानी १२ हजार २ सय (जोडीको २४ हजार ४ सय ) भन्दा बढी थियो भनेपनि वा तपाईले सन् २०१९ को अन्त्यतिर विवाह गर्नुभएको थियो र दम्पत्तिको विवरण आईआरएएसमा छैन वा तपाई सन् २०१९ मा अमेरिकी नागरिक वा ग्रिनकार्डवाहक हुनुहँदैनथ्यो भने यो फर्म नभर्नुहोला ।

आईआरएस र फ्रि फाइल एलायन्सबीचको सहकार्यमा नयाँ टुलको विकाश गरिएको हो । यो टुल ट्याक्स फाइल गर्न नपर्ने व्यक्तिका लागि डिजाइन गरिएको हो, जसमा कम आम्दानी भएका कारण ट्याक्स फाइल नगरेकाहरुसमेत पर्छन् ।

आईआरएसका कमिश्नर चक रेटिजले ट्याक्स रिर्टन फाइल गर्न बाध्यकारी नभएकाहरुले उक्त टुलको प्रयोग गरेर आफ्नो आधारभूत जानकारी उपलब्ध गराउन सुझाव दिएका छन् । त्यसो भएमा सकभर छिटो उनीहरुलाई १२ सय डलरको चेक पठाउन सहज हुने उनको भनाई छ ।

यदि तपाईले ट्याक्स फाइल गर्नुनपर्ने कारणले विगतमा ट्याक्स फाइल गर्नुभएको थिएन भने यो टुलको प्रयोग गरेर आफ्नो विवरण आईआरएसमा उपलब्ध गराउनुहोला ।

Non-Filers: Enter Payment Info Here

आईआरएसले करदाताहरुलाई खातामा रकम पठाउन सुरु गरेको तथा सन् २०१८ र सन् २०१९ मा ट्याक्स फायल गरेका करदाताहरुले अटोमेटिक रुपमा उक्त राहत रकम प्राप्त गर्ने जनाएको छ । सोसल सेक्युरिटी रिटायर्डमेन्ट, सर्भाइभर वा अपांगता भत्ता र रेडरोड रिटायर्डमेन्ट लिइरहेकाहरुले पनि राहत रकम अटोमेटिक रुपमा पाउनेछन् ।

ट्याक्स फाइल गर्नु नपर्नेहरुले यो टुलको माध्यमबाट आफ्नो विवरण निकै सहज तरिकाले एकमिनेटमा उपलब्ध गराउन सक्छन् । सोसल सेक्युरिटी नम्बर, नाम, ठेगाना र डिपेन्डेन्टको विवरण उपलब्ध गराइसकेपछि आईआरएसले योग्यता परीक्षणका लागि उक्त विवरणका प्रयोग गर्नेछ । बैंकको विवरण उपलब्ध गराएको खण्डमा आईआरएसले सिधै बैंकमा रकम पठाउनेछ । अन्यथा ठेगानामा चेक हुलाकमार्फत पठाउनेछ ।

यो टुल सन् २०१८ र २०१९ मा ट्याक्स फाइल नगरेका र सोसल सेक्युरिटी रिटायर्डमेन्ट, सर्भाइभर वा अपांगता भत्ता र रेडरोड रिटायर्डमेन्ट नलिएकाहरुका लागि डिजाइन गरिएको हो । १२ हजार २ सय भन्दा कम आम्दानी भएको एकल र २४ हजार ४ सय भन्दा कम आम्दानी भएका दम्पत्तिले अनिवार्य नभएका कारण ट्याक्स फाइल गरेका छैनन् भने उनीहरुले यो टुलको प्रयोग गर्नसक्नेछन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com