आर्थिक प्रभाव पेमेन्ट : स्टाटस चेक गर्दा यस्तो सन्देश पाउनुभयो ? कारण यस्तो छ


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

अमेरिकी सरकारले कोरोना भाइरसको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्नका लागि अमेरिकी करदाताहरुलाई जनही १२ सय डलर खातामा पठाउन सुरु गरिएको छ । कैयन अमेरिकी करदाताहरुले यो रकम आज प्राप्त गरिसकेका छन् तर कतिपय करदाताहरुले यो रकम प्राप्त गरिसकेका छैनन् ।

जसजसले रकम पाएका छैनन्, उनीहरुले पेमेन्टको अवस्थाबारे जानकारी दिन आईआरएसले नयाँ टुलको व्यवस्था पनि गरिसकेको छ । गेट माई पेमेन्ट नामको यो टुलमा क्लीक गरिसकेपछि करदाताले आफूले प्राप्त गर्ने रकमको अवस्थाबारे जानकारी पाउनुहुनेछ ।

खासगरी यो लिंकमा क्लिक गरेर आफ्नो विवरण दिएपछि चार प्रकारका सन्देशहरु तपाईले पाउनुहुनेछ । पहिलो, यदि तपाईको बैंक खातामा आईआरएसले रकम पठाइसकेको छ वा पठाउने तय गरेको छ भने बैंक खाताको अन्तिम ४ नम्बरसहित कहिले पठाएको हो वा पठाउने तय भएको छ उक्त विवरण तपाईले पाउनुहुनेछ ।

दोश्रो, तपाई योग्य भएको तर तपाईलाई रकम पठाउने प्रकृया पूरा गर्न बाँकी रहेको तथा रकम पठाउने मिति तय नभइसकेको सन्देश पाउनुहुनेछ । यदि यस्तो सन्देश पाउनुभयो भने दिनमा पटकपटक अनलाइनमा गएर चेक नगर्नुहोला । किनभने आईआरएसले यो विवरण २४ घण्टामा एकपटकमात्र अपडेट गर्ने भएकाले २४ घण्टापछिमात्र चेक गर्नुहोला ।

राहत रकम ट्रयाक गर्न वा खाता नम्बर दिनका लागि यहाँ क्लिक गर्नुहोला ।

तेश्रो, थप जानकारी आवश्यक भएको सुचना देख्न सक्नुहुनेछ । जस अन्तरगत तपाई योग्य भएको तर तपाईलाई कुन बैंकमा रकम पठाउने भन्ने विवरण आईआरएससँग नभएको उल्लेख गरिएको हुन्छ । यसो भएमा तपाईले बैंकको विवरण उल्लेख गर्ने विकल्प पाउनुहुनेछ । बैंकको विवरण उल्लेख गरिसकेपछि तपाईले शीघ्र रकम प्राप्त गर्नुहुनेछ । तपाईले बैंक एकाउन्ट उपलब्ध गराउनुभएन भने आईआरएसको फाइलमा रहेको तपाईको पछिल्लो ठेगानामा मेको पहिलो सातापछि आईआरएसले चेक पठाउनेछ ।

याद गर्नुहोस्, यदि तपाईले आईआरएसलाई आफ्नो बैंक एकाउन्टबाट इलेक्ट्रोनिक रुपमा कर दाखिला गर्नुभएको थियो भने आईआरएसले अटोमेटिक रुपमा नै उक्त एकाउन्ट तपाईलाई राहत रकम पठाउनका लागि प्रयोग गर्दैन । तपाईले गेट माइ पेमेन्ट टुलमा गएर डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्ट दिनुपर्नेहुन्छ ।

चौथो, पेमेन्ट स्टाटस उपलब्ध नभएको सुचना पाउनुहुनेछ । यो सुचनामा आईआरएसले तपाइको योग्यता निर्धारण गर्न नसकेको उल्लेख गरेको हुन्छ । तपाईले सन् २०१८ मा वा सन् २०१९ मा ट्याक्स फाइल गर्नुभएको थिएन भने यस्तो हुनसक्छ । साथै तपाईले हालै सन् २०१९ को ट्याक्स फाइल गर्नुभएको छ तर आईआरएसले त्यसलाई सम्पूर्ण रुपमा प्रकृया पूरा गरिसकेको छैन भने पनि यो सुचना प्राप्त गर्न सक्नुहुनेछ ।

यदि यस्तो सुचना पाउनुभयो भने तपाईले धैर्य गर्नुहोला । यो अवस्थमा आईआरएसमा फोन नगर्न सुझाव दिइएको छ । तपाईले आफ्नो स्टाटस हरेक २४ घण्टापछि हेर्न सक्नुहुनेछ ।

तपाईको खातामा १२ सय डलर आएन ? यस्ता हुनसक्छन् कारण

आईआरएसले कोरोनाको महामारीका कारण पठाएको आर्थिक राहत अन्तरगतको रकम करदाताको खातामा आउन सुरु गरेको छ । तर तपाईले उक्त रकम प्राप्त गर्नुभएको छैन भने त्यसका मुख्यतया तीन कारण हुनसक्छन् ।

पहिलो कारण, तपाईको आम्दानी तोकिएको भन्दा धेरै भएका कारण उक्त रकम प्राप्त नभएको हुनसक्छ । दोश्रो कारण, तपाईले २०१८ वा २०१९ को ट्याक्स फाइल नगरेका कारण रकम प्राप्त नभएको हुनसक्छ । तेश्रो कारण, तपाईले आईआरएसलाई डाइरेक्टर डिपोजिटको लागि बैंक खाता नदिनुभएको हुनसक्छ ।

याद गर्नुहोस्, यदि तपाईले आईआरएसलाई रकम तिर्नका लागि प्रयोग भएको खाता आईआरएसको रेकर्डमा डाइरेक्ट डिपोजिटका लागि दिइएको खाताका रुपमा नहुनसक्छ । यदि त्यसो भएमा तपाईले अनलाइनमार्फत आफ्नो डाइरेक्ट डिपोजिट खाता आईआरएसलाई दिनसक्नुहुनेछ ।

त्यसका लागि आईआरएसले पेमेन्टको स्टाटस चेक गर्नका लागि  व्यवस्था गरेको नयाँ टुल ‘गेट माई पेमेन्ट’ मा क्लिक गर्नुहोला । त्यहाँ पेमेन्टको स्टाटस, राहतको रकम प्राप्त हुने मिति, सिधै बैंकमा पठाइएको हो वा हुलाकमा त्यसको विवरण हेर्न सकिनेछ । त्यहाँ आईआरएसले तपाईको रकम कुन विधिबाट कुन मितिमा पठाउने उल्लेख गरेको हुन्छ । यदि आईआरएसको रेकर्डमा तपाइका लागि डाइरेक्ट डिपोजिट गर्ने खाता छैन भने तपाईले आफ्ना खाता नम्बर दिनका लागि विकल्प देख्नुहुनेछ । त्यहाँ तपाइले आफ्नो कुल आम्दानी (१०४० फर्मको ८ बी ) र बैंक खाता नम्बर हालेर सब्मिट गर्न सक्नुहुनेछ ।

यदि तपाईको आम्दानी बढी छ भने पनि तपाईलाई यो रकम प्राप्त नहुनसक्छ ।  यो राहत अन्तरगत ७५ हजारभन्दा कम आम्दानीहुनेले १२ सय डलर प्राप्त गर्छन् १ लाख ५० हजार भन्दा कम आम्दानीहुने दम्पत्तिले २४ सय डलर प्राप्त गर्छन् ।  १७ बर्षभन्दा कम उमेरका बच्चा हुनेहरुलाई थप ५ सय डलर गर्छन् । ९९ हजारभन्दा माथि आम्दानी हुने एकल र १ लाख ९८ हजारभन्दा माथि आम्दानी हुने दम्पत्तिले कुनै रकम प्राप्त गर्नेछैनन् ।

त्यस्तै तपाईले २०१८ वा २०१९ को ट्याक्स फाइल नगरेका कारण रकम प्राप्त नभएको हो भने र तपाई ट्याक्स फाइल गर्नका लागि बाध्य हुनु हुन्थेन भने तपाईले अर्को टुलको प्रयोग गरेर आईआरएसलाई त्यसबारे जानकारी दिनसक्नुहुनेछ । कोरोना भाइरसको महामारीका कारण दिने १२ सय डलरको राहत रकम ट्याक्स फाइल नगरेकाहरुलाई समेत दिलाउनका लागि आईआरएसले नयाँ टुलको व्यवस्था गरेको छ । यो टुलको प्रयोग गरेर ट्याक्स फाइल गर्नु नपर्नेहरुले आफ्नो विवरण बुझाएर १२ सय डलरको राहत प्राप्त गर्न सक्नेछन् ।

तर याद गर्नुहोस्, यदि तपाईले सन् २०१९ को ट्याक्स फाइल गरिसक्नुभएको छ भने वा तपाईको बार्षिक आम्दानी १२ हजार २ सय (जोडीको २४ हजार ४ सय ) भन्दा बढी थियो भनेपनि वा तपाईले सन् २०१९ को अन्त्यतिर विवाह गर्नुभएको थियो र दम्पत्तिको विवरण आईआरएएसमा छैन वा तपाई सन् २०१९ मा अमेरिकी नागरिक वा ग्रिनकार्डवाहक हुनुहँदैनथ्यो भने यो फर्म नभर्नुहोला ।

आईआरएस र फ्रि फाइल एलायन्सबीचको सहकार्यमा नयाँ टुलको विकाश गरिएको हो । यो टुल ट्याक्स फाइल गर्न नपर्ने व्यक्तिका लागि डिजाइन गरिएको हो, जसमा कम आम्दानी भएका कारण ट्याक्स फाइल नगरेकाहरुसमेत पर्छन् ।

आईआरएसका कमिश्नर चक रेटिजले ट्याक्स रिर्टन फाइल गर्न बाध्यकारी नभएकाहरुले उक्त टुलको प्रयोग गरेर आफ्नो आधारभूत जानकारी उपलब्ध गराउन सुझाव दिएका छन् । त्यसो भएमा सकभर छिटो उनीहरुलाई १२ सय डलरको चेक पठाउन सहज हुने उनको भनाई छ ।

यदि तपाईले ट्याक्स फाइल गर्नुनपर्ने कारणले विगतमा ट्याक्स फाइल गर्नुभएको थिएन भने यो टुलको प्रयोग गरेर आफ्नो विवरण आईआरएसमा उपलब्ध गराउनुहोला ।

Non-Filers: Enter Payment Info Here

आईआरएसले करदाताहरुलाई खातामा रकम पठाउन सुरु गरेको तथा सन् २०१८ र सन् २०१९ मा ट्याक्स फायल गरेका करदाताहरुले अटोमेटिक रुपमा उक्त राहत रकम प्राप्त गर्ने जनाएको छ । सोसल सेक्युरिटी रिटायर्डमेन्ट, सर्भाइभर वा अपांगता भत्ता र रेडरोड रिटायर्डमेन्ट लिइरहेकाहरुले पनि राहत रकम अटोमेटिक रुपमा पाउनेछन् ।

ट्याक्स फाइल गर्नु नपर्नेहरुले यो टुलको माध्यमबाट आफ्नो विवरण निकै सहज तरिकाले एकमिनेटमा उपलब्ध गराउन सक्छन् । सोसल सेक्युरिटी नम्बर, नाम, ठेगाना र डिपेन्डेन्टको विवरण उपलब्ध गराइसकेपछि आईआरएसले योग्यता परीक्षणका लागि उक्त विवरणका प्रयोग गर्नेछ । बैंकको विवरण उपलब्ध गराएको खण्डमा आईआरएसले सिधै बैंकमा रकम पठाउनेछ । अन्यथा ठेगानामा चेक हुलाकमार्फत पठाउनेछ ।

यो टुल सन् २०१८ र २०१९ मा ट्याक्स फाइल नगरेका र सोसल सेक्युरिटी रिटायर्डमेन्ट, सर्भाइभर वा अपांगता भत्ता र रेडरोड रिटायर्डमेन्ट नलिएकाहरुका लागि डिजाइन गरिएको हो । १२ हजार २ सय भन्दा कम आम्दानी भएको एकल र २४ हजार ४ सय भन्दा कम आम्दानी भएका दम्पत्तिले अनिवार्य नभएका कारण ट्याक्स फाइल गरेका छैनन् भने उनीहरुले यो टुलको प्रयोग गर्नसक्नेछन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com