भिसा सकिन लागेकालाई दिइएन थपको विशेष सुविधा, फटाफट भर्नुहोस् आई ५३९ फर्म


प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार

युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अमेरिकामा भिजिटर लगायतका गैरआप्रवासी भिसा सकिएका वा सकिन लागेका तर कोरोनाको महामारीका कारण अमेरिकाबाट फर्कन नसकेकाहरुका लागि अवधि थपका लागि कुनै विशेष सुविधा उपलब्ध गराएको छैन । तर भिसा सकिएका वा सकिन लागेका तर कोरोनाको महामारीका कारण अमेरिकाबाट फर्कन नसकेकाहरुले अनलाइनमा गएर नियमित प्रकृयाबाटै भिसा थप वा स्टाटस परिवर्तनका लागि भने आवेदन दिनसक्नेछन् ।

कुनै विशेष सुविधाको साटो नियमित प्रकृयाबाटै आई ५३९ फर्म भर्नुपर्ने युएससीआईएसले जनाएको छ । यो फर्म भर्दा ३७० डलर नियमित शुल्क र ८५ डलर बायोमेट्रिक शुल्क तिर्नुपर्छ ।

नियमित प्रकृयाबाटै आई ५३९ आवेदन दिन यहाँ क्लिक गर्नुहोला ।

सामान्यतया आई ९४ को अवधि सकिनुभन्दा अगाडि नै भिसा थपका लागि फाइल गर्नुपर्ने प्रावधान रहेको छ । तर कोरोनाको महामारीका कारण फर्कन नसकेकाले आई ९४ को अवधि सकिएपछि फाइल गरेको बिलम्ब आवेदनलाई समेत युएससीआइएसले केसका आधारमा स्वीकार्ने बताएको छ । कोरोनाको महामारीका कारण भिसा थपका लागि समयमै फाइल नगरिएका आवेदनलाई समेत माफी दिइने युएससीआईएसको भनाई छ ।

आवेदनबारे शीघ्र फैसला चाहनेले अनलाइनमार्फत आवेदन भरिसकेपछि प्राप्त रिसिप्ट नम्बर लिएर युएससीआईएसमा सम्पर्क गर्नुपर्नेछ । युएससीआईएसको फोन नम्बर ८०० ३७५ ५२८३ मा सम्पर्क गरेर तपाईले कोरोनाको महामारीका कारण आफू फर्कन नसक्ने अवस्था आएको र स्वदेशमा फर्कनका लागि उडानहरु नरहेकोबारे युएससीआईएसलाई जानकारी दिनुपर्नेछ । त्यसपछि तपाईको आवेदनबारे युएससीआईएसले शीघ्र निर्णय दिनेछ ।

अमेरिकामा भिसाको अवधि सकिएपछि पनि भिसा थप नगरी बसेको खण्डमा गैरकानुनी उपस्थीति गणना गरिन्छ । जसका कारण भविश्यमा अमेरिका आउन, ग्रिनकार्ड लगायतका आवेदन दिन समस्या उत्पन्न हुनसक्छ ।

एचवानबी, एलवान, ओवान, टीएन लगायतका श्रेणीमा वर्तमान रोजगारदाताकै माताहतमा रहेर समयमै भिसा थप फाइल गर्दा आवेदन पेन्डिङ रहेकै अवस्थामा समेत २४० दिनसम्म वर्क परमिट स्वत लम्बिने युएससीआईएसले जनाएको छ ।

भिसा वेभर कार्यक्रम अन्तरगत विना भिसा अमेरिकामा ९० दिनको अवधिका लागि आएकाहरुलाई विगतमा अवधि थप्ने सुविधा दिइएको थिएन । तर उनीहरुले भने युएससीआईएसमा फोन गरेर निशुल्क एकमहिनासम्मको अवधि थप्नसक्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com