को हुन् न्युयोर्कमा गुपचुप मृत्यु भएका राई ? तीनसातासम्म दाहसंस्कार हुनसकेन शव
प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार
न्युयोर्कमा नेपालीको एउटा मृत्यु जो कसैले पनि वास्ता गरेका छैनन् । न उनको नाममा कसैका फेसबुकमा श्रद्धाञ्जली देखियो न त उनको मृत्युबारे कसैले सोधीखोजी नै गरे ।
मार्च २७ मा न्युयोर्कको एल्महस्र्ट अस्पतालमा एकजना राई थरका व्यक्ति विते । तर उनको मृत्युबारे न्युयोर्कको नेपाली समुदायले पत्तो पाएन । खसोखासले भने उनको मृत्युबारे अनुसन्धान सुरु गरेको थियो ।
झण्डै २ सातासम्मको अनुसन्धानपछि गत विहिबार पत्तो लाग्यो, मार्च २७ मा एल्महस्र्ट अस्पतालमा बितेका व्यक्ति रहेछन् बिष्णुकुमार राई । उनी त्यसको केहीदिन अगाडि एल्हमस्र्ट अस्पतालमा भर्ना भएका रहेछन् ।
‘मार्च २७ मा एल्महस्र्ट अस्पतालमा निधन भएका व्यक्ति बिष्णुकुमार राई रहेछन् । अस्पतालको डेढ नोटिफिकेशन विभागले यसको पुष्टी गरेको छ । विभागका अनुशार उनको शव मेडिकल इक्जामिनरको कस्टडीमा राखिएको छ ।’ – मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले पुष्टी गरे ।
राईको मृत्युपछि खसोखासले उनका बारेमा थप विवरणहरु पत्ता लगाएर ह्यारी भण्डारीलाई सम्पर्क गरेपछि भण्डारीले डेढ नोटिफिकेशन विभागमा पटकपटकको सम्पर्कपछि राईको मृत्यु भएको पुष्टी गरे । उनी भन्छन् – ‘व्यक्तिको मृत्यु भएको पुष्टी गर्न पनि अहिले निकै गाह्रो रहेछ । म जनप्रतिनिधि भएको हैसियतले अलिकति सहज भयो ।’
उनको शव दाहसंस्कारका लागि जिम्मा लिने कोही व्यक्ति अमेरिकामा नभएका कारण अहिलेसम्म उनको शव कसैले पनि दावी गरेको छैन । निश्चित समयसम्म दावी नगरिएको खण्डमा न्युयोर्कमा अन्क्लेम शवहरु सामुहिक चिहानमा लगेर दफनाउने गरिएको छ ।तर परिवारका सदस्यहरु वा हकवाला कोही भएकोखण्डमा र उनीहरुले स्वीकृति दिएको खण्डमा शव दाहसंस्कारका लागि आफूहरुले सहयोग गर्नसक्ने भण्डारीले बताएका छन् ।
को हुन् बिष्णु राई ?
बिष्णु राई को हुन् भन्ने विषयमा पारिवारिक पृष्ठभूमि खुलेको छैन । तर उनी केहीबर्ष अगाडि आप्रवासीको अधिकारका लागि कृयाशिल संस्था अधिकारको सम्पर्कमा आएका थिए । अधिकारले उनलाई टीपीएस दिलाउनका लागि सहयोग गरेको थियो ।
उनको वर्क परमिट कागजातमा उनको जन्ममिति १९४८ अप्रिल २५ उल्लेख गरिएको छ । जस अनुशार उनी आगामी साता ७२ बर्ष पुग्न लागेका थिए । उनको वर्क परमिटमा उनको जन्मदेश नेपाल उल्लेख गरिएको छ । तर उनी कहिले र कसरी अमेरिका आए भन्नेबारे केही खुलेको छैन ।
लामोसमय होमलेस सेल्टरमा बसेका उनले सन् २०१७ को फरबरी देखि अधिकारकै सहयोगमा नर्सिङ होम प्राप्त गरेका थिए । रकवे केयर सेन्टरको कागजात अनुशार उनी सन् २०१७ को फरबरी २४ देखि एल्महस्र्ट अस्पतालबाट रकवे केयर सेन्टरमा भर्ना भएका थिए ।
केयर सेन्टरको कागजात अनुशार राई मृगौलाका बिरामी थिए । उनले नियमित रुपमा डायलासिस गराउँदै आएका थिए । साताको तीनपटक उनको डायलासिस गराउँदै आइएको थियो ।
एल्महस्र्टको ब्रोडवे डायलासिस सेन्टरका अनुशार राईले सन् २०१२ को मार्च देखि नै उक्त डायलासिस सेन्टरमा डायलासिस गराउँदै आएका थिए । सन् २०१२ को मार्च २२ देखि उक्त सेन्टरमा राईको डायलासिस सुरु गरिएको खसोखासलाई प्राप्त कागजातमा उल्लेख छ ।
उनले हरेक मंगलबार, बिहिबार र शनिबारगरी हप्तामा तीनपटक डायलासिस गराउँदै आएका थिए । एकपटकको डायलासिसमा ४ घण्टा लाग्ने गरेको ब्रोडवे डायलासिस सेन्टरले जनाएको छ । कागजातमा उल्लेख भए अनुशार उनमा निको नहुने प्रकारको क्रोनिक स्वास्थ्य अवस्था रहेको थियो ।
उनले बेलाबेलामा रक्तश्राव, बान्ता, कमजोरी, रिंगटा लाग्ने लगायतका समस्याहरु समेत भोग्दै आएका थिए । होमलेस सेल्टरमा बस्ने क्रममा उनी बिरामी भएर अस्पतालमा भर्ना भएर फर्कदा उनका सामानहरु मिल्काइने लगायतका समस्या उनले भोग्दै आएका थिए ।
उनले आफ्ना कुनै परिवारका सदस्यहरु नरहेको बताउँदै आएका थिए । टीपीएसभन्दा अगाडि उनको जीवन अत्यन्तै दर्दनाक रहेकोमा टीपीएस पाइसकेपछि भने उनले नर्सिङ होम पाएका कारण केही सहज भएको थियो ।
बाँच्नका लागि लागि लामो समयदेखि संघर्ष गर्दै आएका उनको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेका कारण र उनी मुटुको समेत रोगी भएका कारण उनी कोरोनासँग भने जुध्न सकेनन् । मार्चमा अस्पतालमा भर्ना भएका उनी मार्च २७ मा यो संसारबाट बिदा भए ।
उनको मृत्युको खबर अहिले भारतमा रहेका उनका आफन्तहरुले पाइसकेका छन् । तर उनका आफन्त दावी गर्नेहरुसँगको उनको सम्बन्ध के हो भन्नेबारे केही खुलेको छैन ।
उनका आफन्त दावी गर्ने केही व्यक्तिले न्युयोर्कमा रहेको नेपाली कन्सुलेट र वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा इमेलमार्फत सम्पर्क गरेको कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले जानकारी दिए । उनका आफन्तहरुले शव नेपालमा लैजान चाहेको भन्दै दूतावासमा इमेल गरेका थिए ।
उनका आफन्त दावी गर्नेहरु आफ्नो सम्पर्कमा आएको न्युयोर्कमा सामाजिक व्यक्तित्व केशवराम राईले जानकारी दिए । उनीहरुले मृत्यु हुने व्यक्ति उनीहरुकै आफन्त भए नभएको पुष्टी गर्न खोजेका थिए । तर फोटो, जन्ममिति, मृतकको सामाजिक सुरक्षा नम्बर लगायतका आधारमा मृतक बिष्णु कुमार राई नै भएको पुष्टी भएको छ ।
परिवारमा को छ ?
राई नेपालको काठमाडौंमा रहँदा बाँसबारीमा बस्दै आएको र नविल बैंकमा सेक्युरिटी अफिसरका रुपमा काम गरेको उनकी भान्जी सपनादेवी राईले जानकारी दिएकी छिन् । भान्जीका अनुशार बिष्णुकुमार राई २७ बर्षअगाडि नेपाल छाडेर विदेशीएका थिए ।
दुई दाजुभाई र एकबहिनीमा बिष्णुकुमार राई जेठा थिए । राईले कहिले पनि विवाह नगरेको जनाइएको छ । उनका भाईले विवाह गरेको तर बच्चा नजन्मिदै भाईको निधन भएकाले भाईकी श्रीमतिले अर्कैसँग विवाह गरेर गएको जनाइएको छ । राईकी बहिनीले पनि बच्चा जन्माएपछि अन्यत्रै गएकाले आमासँग आफ्नो सम्पर्क नरहेको भान्जी सपनादेवीले जानकारी दिइन् ।
उनले भनिन् – ‘आमापनि मलाई जन्माएपछि अन्यत्रै विवाह गरेर जानुभयो । म हजुरबा र हजुरआमासँग हुर्कें । हजुरबा भारतीय सेनामा हुनुहुन्थ्यो । आमाले अन्तै विवाह गरेपछि मेरो अभिभावकका रुपमा मामा बिष्णुकुमार राई नै हुनुहुन्थ्यो । उहाँको निधनले स्तब्ध भएकी छु । उहाँको सतगद राम्रोसँग भए हुनेथियो ।’