अमेरिकामा अस्थायीरुपमा आप्रवासन रोक्ने ट्रम्पको ट्वीट, कार्यकारी आदेशको ड्राफ्ट बनाइदै
प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिकामा अस्थायी रोक लगाउने कार्यकारी आदेश जारी गर्ने भन्दै ट्वीट गरे लगत्तै ट्रम्प प्रशासन कार्यकारी आदेशको ड्राफ्ट तयार गर्नतिर लागेको छ । अमेरिकी नागरिकको जागिर संरक्षण गर्न अमेरिकामा अस्थायीरुपमा आप्रवासन रोक्ने भन्दै ट्रम्पले सोमबार राती ट्वीट गरेका थिए ।
अधिकारीहरुले कार्यकारी आदेशको ड्राफ्ट बनाउनका लागि गृहकार्य गरिरहेका छन् । तर कार्यकारी आदेशको ड्राफ्ट र भाषा तयार हुन अझै केहीदिन लाग्नसक्ने जनाइएको छ । ट्रम्पको कार्यकारी आदेशले अमेरिकामा ग्रिनकार्ड र कामदार भिसामा अस्थायी रुपमा रोक लगाउन सक्नेछ ।
In light of the attack from the Invisible Enemy, as well as the need to protect the jobs of our GREAT American Citizens, I will be signing an Executive Order to temporarily suspend immigration into the United States!
— Donald J. Trump (@realDonaldTrump) April 21, 2020
अमेरिकामा कोरोनाको महामारीका कारण बेरोजगारी दर उच्च देखिएपछि केही कामदार भिसा र ग्रिनकार्डमा आप्रवासन झण्डै ४ महिनाका लागि रोक्ने तयारी ट्रम्पले गरिरहेको जनाइएको छ । डिभी लोटरीबारे ट्रम्प पहिलेदेखि नै अनुदार रहदै आएका कारण यसले डिभी लोटरीबाट अमेरिका आउनेहरुलाई पनि प्रभाव पार्नसक्ने जनाइएको छ ।
यो बर्षका लागि डिभी विजेताहरुले आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गरिसकेको हुनुपर्ने प्रावधान छ । कोरोनाको महामारीका कारण अधिकांश दूतावास र कन्सुलेटहरुले डिभी लोटरी भिसा जारी गर्न स्थागित गरिसकेका छन् । रोजगारमा आधारित ग्रिनकार्डपनि प्रभावित हुनसक्ने देखिन्छ । तर परिवारमा आधारित ग्रिनकार्ड ढिलो भएपनि अरु प्रभाव भने पर्नेछैन ।