आप्रवासनमा अस्थायी रोक ग्रिनकार्डमा मात्र लागु हुने र ६० दिन कायम हुने


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमा अस्थायी रोक ग्रिनकार्डमा मात्र लागु हुने र ६० दिन कायम हुने बताएका छन् । यो रोक ग्रिनकार्डमा आउन चाहनेहरुलाईमात्र लागु हुने तर अस्थायीरुपमा कामदार भिसामा आउन चाहनेलाई यो नियम लागु नहुने ट्रम्पले बताएका छन् । ट्रम्पले उक्त कार्यकारी आदेश जारी गर्न भने बाँकी नै छ ।

सोमबार राती ट्वीट गर्दै उनले अमेरिकामा आप्रवासनमा अस्थायी रुपमा रोक लगाउने घोषणा गरेका थिए । तर त्यसबारे स्पष्ट पारेका थिएनन् । ट्रम्पले आज अर्को ट्वीट गर्दै आज बेलुकासम्ममा उक्त कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् । ६० दिनको अस्थायी रोक नविकरण हुने नहुने भन्ने विषय पनि कार्यकारी आदेशमा समावेश गरिनेछ ।

नयाँ आप्रवासनमा रोक लगाएपछि अमेरिका खुल्ने बित्तिकै वेरोजगार अमेरिकी नागरिकलाई जागिरको पहिलो प्राथमिकतामा राखिने ट्रम्पले बताएका छन् । अमेरिकनहरु कोरोनाको महामारीका कारण कामबिहिन भएको अवस्थामा उनीहरुको साटो नयाँ आउने आप्रवासीले उक्त काम पाउनु अन्यायपूर्ण हुने ट्रम्पको भनाई छ ।

कार्यकारी आदेश जारी भएपछि कम्तीमा ६० दिनसम्म अमेरिकामा आप्रवासी भिसामा आउनमा रोक लाग्नसक्नेछ । तर पहिले नै भिसा प्राप्त गरिसकेकाहरुलाई पनि रोक लाग्ने वा नयाँ भिसा जारी नगर्ने भन्ने सन्दर्भमा अहिलेसम्म केही स्पष्ट छैन । त्यस्तै अमेरिकामा नै रहेर ग्रिनकार्डका लागि आवेदन दिएकाहरुका सन्दर्भमा पनि दुईमहिनासम्म ग्रिनकार्ड जारी हुने वा नहुने भन्ने स्पष्ट छैन ।

तर पहिले नै आप्रवासी भिसा स्वीकृत भइसकेर अमेरिका आइसकेकाहरुको ग्रिनकार्ड जारी हुनमा भने रोक नलाग्ने देखिन्छ । त्यस्तै अमेरिकामा आएपछि ग्रिनकार्ड हराएकाहरुलाई पनि कार्यकारी आदेशले ग्रिनकार्ड रिप्लेसका लागि आवेदनमा दिनमा रोक नलाग्ने देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com